हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ मा पूर्ण खोप दिवस मनाइएको छ । कुनै एक समय वा वर्षलाई मात्र दिवसका रुपमा नभई यसलाई अभियानका रुपमा निरन्तरता दिन आवश्यक छ । तीन वर्षअगाडि उपमहानगरपालिकाले विभिन्न वडाहरुमा पूर्ण खोप कार्यक्रम लागू गरेको भए पनि निरन्तरता पाउन सकेको छैन । यस वर्षदेखि पूर्ण खोप कार्यक्रमलाई निरन्तरता दिँदै प्रत्येक महिनाको ७, ८ र ९ गते नियमित खोप लगाउने व्यवस्था मिलाइएको छ । खोप लगाउन छुटेका बालबालिकाको तथ्याङ्क संकलन गरी वडा कार्यालयले दुई वर्ष मुनिका बालबालिकालाई पूर्ण खोप लगाउनु पर्दछ । कुनै पनि बालबालिका खोपबाट वञ्चित हुनु हुँदैन । खोप पाउने बालबालिकाको नैसर्गिक अधिकार हो । यसका लागि अभिभावक जिम्मेवार बन्नु पर्दछ ।
नेपाल सरकारले खोपको सुनिश्चितता गर्न अभियान सञ्चालन गरेको छ । यही कार्यक्रमलाई हेटौंडा उपमहानगरपालिकाले पनि सञ्चालन गर्ने प्रयास गरेको हो । तर सुरु भए पनि अभियानका रुपमा निरन्तरता दिन सकेको देखिँदैन । बालबालिकाको खोप सम्बन्धमा राज्यका निकायभन्दा बढी अभिभावकहरु जिम्मेवार हुन आवश्यक छ । उनीहरुलाई खोपप्रति सकारात्मक बनाउने काम राज्यको हो । स्वस्थ नागरिक उत्पादन गर्ने आधार बालबालिकाहरुलाई पूर्ण खोपको अवस्था अझै बन्न नसक्नु नेपालको स्वास्थ्य क्षेत्रको दुर्भाग्यपूर्ण स्थिति हो । आफ्नो बच्चालाई खोप लगाउने/नलाउने अधिकार अभिभावकको हो, तर बालबालिकालाई रोगविरुद्ध लड्न सक्षम बनाउनु पर्ने जिम्मेवारी अभिभावककै हुन्छ । नेपालमा आज पनि धेरै अभिभावकहरु बालकालिकाहरुलाई खोप लगाउन चाहँदैनन् ।
खोप लगाएपछि बच्चालाई गाह्रो हुने तथा देवीदेवताको नाममा खोपबाट छुट्नु भनेको महामारीको स्थान सुरक्षित राखिदिनु हो भन्ने कुरा जानकारी गराउन नसक्नु राज्यका निकायहरुको कमजोरी हो । खोप भनेको रोगसँग लड्नसक्ने प्रतिरोधात्मक शक्ति शरीरमा स्थापित गराउनु हो । भ्याक्सिनको माध्यमबाट सो शक्ति शरीरमा प्रवेश गराइन्छ । नेपालमा बालबालिकालाई हालसम्म ११ वटा खोप दिइँदै आएको छ । तर सबै बालबालिकाले यी खोप नियमित लगाउन पाएको अवस्था छैनन् । सबै खोप लगाउनु नै पूर्ण खोप हो । तर के नेपालका सबै बालिकालिकाले निर्धारित समयमा सबै खोप लगाएका छन् त भन्ने प्रश्न छ । अभिभावकहरुले आफूलाई सहज हुने समयमा खोप लगाइदिँदा खोपको पूरा डोज पुगिरहेको छैन । त्यसैले पूर्ण खोप अभियान आवश्यक छ ।
बाल मृत्युदर कम गर्न, स्वस्थ जनशक्ति उत्पादन गर्न, आर्थिक उपार्जनमा जोडिने र रोगविरुद्ध उपचारमा लाग्ने खर्च बचाउन पनि बालबालिकाहरुलाई खोपबाट वञ्चित गराउनु हुँदैन । पछिल्लो तथ्यांकअनुसार १३ प्रतिशत बालबालिकाको खोप अनियमित रहेको पाइएको छ भने ३ प्रतिशत बालबालिका खोपबाट पूर्णरूपमा वञ्चित छन् । खोप अनियमित हुनुमा शहरमा बसाईंसराई प्रमुख कारण बनेको छ । प्रभावकारी अनुगमन गरी खोपबाट छुटेका बालबालिका पत्ता लगाई तिनीहरूलाई खोपको दायरामा ल्याउनुपर्छ । खोपका लागि अभिभावकलाई उत्प्रेरित गर्नु पर्दछ । स्वास्थ्य स्वयम्सेविकाको भूमिकालाई बढी प्रभावकारी बनाउन सक्नुपर्ने देखिन्छ । खोप लगाउने र नलगाउने अभिभावकलाई दण्ड र पुरस्कारको व्यवस्था गरे सबै बालकालिकाले पूर्ण खोप पाउनेछन् ।