गुगल तस्विर ।

हेटौंडाः पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–११, नवलपुरमा बिहीबार बिहान ट्रकले मयुरीलाई ठक्कर दिँदा मयुरी चालकको मृत्यु भएको छ । मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ४०४४ नम्बरको ट्रकले हेटौंडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको ना १ ह ३४०८ नम्बरको मयुरीलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा परी मयुरी चालक हेटौंडा–११, थानाभर्‍याङका अन्दाजी ३६ वर्षीय खेमलाल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ । रानाकाअनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । मयुरीलाई ठक्कर दिने ट्रक चालक फरार रहेको प्रहरीले जनाएको छ ।

बिहान ५ बजेर ४० मिनेटको समयमा दुर्घटना भएको हो । ट्रकले ओभरटेक गर्ने क्रममा मयुरीलाई ठक्कर दिएको हो । बिहीबार बिहान बाक्लो हुस्सुका कारण ओभरटेक गर्ने क्रममा मयुरीलाई नदेखेर दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ ।