गाँजा नष्ट गर्दै प्रहरी ।

हेटौंडाः प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिका–१, गाल्छाराङमा १८ क्विन्टल गाँजा नष्ट गरेको छ । बारीमा लुकाईछिपाई राखेको गाँजा प्रहरीले नष्ट गरेको जनाएको छ । प्रहरीलाई अवरोध गरी आक्रमण समेत गरेको भन्दै प्रहरीले राक्सिराङ गाउँपालिकाका १ नम्बर वडाअध्यक्ष ४३ वर्षीय कान्छालाल रुम्बालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक निरीक्षक शिवराज गुरूङको कमाण्डमा ईलाका प्रहरी कार्यालय नेवारपानीसहित खटिएको ११ जनाको संयुक्त प्रहरी टोलीले शनिबार साँझ साढे ५ बजेको समयमा गाँजा नष्ट गरिदिएको हो । प्रहरीले राक्सिराङ–१, कुपिनटारस्थित बारीमा १५ केजी गाँजा र १४ केजी गाँजाको भाङ बेवारिसे अवस्थामा फेला पारेको छ ।

गाँजा नष्ट गरी फर्कने क्रममा राक्सिराङ–१ कुपिनटारमा स्थानीयले अवरोध गरेपछि प्रहरीले २ राउण्ड हवाई फायर समेत गर्नुपरेको प्रहरीले जनाएको छ । स्थानीयको अवरोध र प्रहरी माथि नै आक्रमण भएपछि स्थिति नियन्त्रणमा लिन ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक बिनोद श्रेष्ठको कमाण्डमा सशस्त्र प्रहरीको आकस्मिक प्रतिरोध समूह (आईआरटी) पोष्ट कत्लेखोलाबाट सहायक प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको थियो ।