हजारौं ऋषिमुनिहरूको तपोभूमि ,
अनेकौं जातजाति,
भाषाभेष अनि मठ मन्दिरमा भएको
बाहुल्यताको सङ्गम स्थल
अनि पृथ्वी नारायण शाहजस्ता ,
वीर, वीरङ्गनाहरूले
रगत, पसिनाको ,धारा बगाई
एकीकरण गरेको मेरो
सुन्दर, शान्त र विशाल नेपाल ।
मेरा पूर्खाहरुले
उ बेला देशका लागि
के चाहिॅं गरेनन् र ?
अङ्ग्रेजसॅंग लड्ने,
पानी नखाई भिड्ने,
सबै उमेर समूह अनि
लिङ्गका मानिस,
देशका लागि अघि बढ्ने
अझै कति कति।।
देशका लागि रगतको बगाए खोला,
तर, कहिल्यै सोचेनन् देश,
आज यस्तोसम्म होला भनेर ।
पूर्खाको पालामा उदाएको घाम
अस्ताउॅंदै अस्ताउॅंदै बिलाउॅंदै छ
थाहा छैन अब फेरि
कुन दिन नयाँ उर्जाशील
घामको आगमन हुने हो ?
राज्यबाट भ्रष्टाचार कहिले उन्मूलन हुने हो ?
हरेक स्तरका मानिसले
पढ्न लेख्न पाउने हुन् ?
अधिकारका लागि लेखिएका पानाहरू कहिले
प्रयोगमा आउने हो ?
समग्रमा भन्नुपर्दा
सारा नेपाली जनताको मुखारबिन्दुमा,
कहिले खुसीको हर्ष छाउने हो ?
सानो बालक भएको भए,
कसैले तिम्रो सपना के हो नानु भने ?
अघिल्लो रातमा भएको
मैले नयाँ खेलौना गुडिया पाएको
कुरा भन्ने थिएँ होला
तर, अब आएको छु हुर्कँदै बढ्दै
देशका नियम कानुन पढ्दै
अबको मेरो एउटै सपना ,
समृद्ध नेपाल र
सुखी नेपालीको मात्र छ