हेटौँडा : जापान जान चाहने विद्यार्थीका लागि जापानिज भाषाको परीक्षा अब हेटौँडामा पनि हुने भएको छ । नेपालमा जापानिज भाषाको परीक्षा लिने संस्था जे–सर्ट नेपालसँग नेपाल शैक्षिक परामर्श संघ (इक्यान) मकवानपुरले गत शुक्रबार सम्झौता गरेर हेटौँडामा पनि भाषा परीक्षा लिने व्यवस्था गरेको हो । यसअघि जापानिज भाषा परीक्षाका लागि विद्यार्थीहरु चितवन या काठमाडौं जान बाध्य थिए ।
जे–सर्ट र इक्यान मकवानपुरबीचको सम्झौतासँगै आगामी मार्च १ मा हुने परीक्षाका लागि शुक्रबारसम्म विद्यार्थीले फारम भर्न पाउने छन् । बिहीबारसम्म झण्डै एक सय विद्यार्थीले भाषा परीक्षाका लागि फारम भरेका छन् भने शुक्रबारसम्ममा एक सय ४० जना विद्यार्थीले फारम भर्ने अपेक्षा गरिएको इक्यान मकवानपुरका अध्यक्ष बेलप्रसाद खतिवडाले जानकारी दिनुभयो । पहिलो पटक हुन लागेको परीक्षाका लागि सर्लाहीदेखि रौतहट, बारा, पर्सा जिल्लाका विद्यार्थीले समेत परीक्षा फारम भरेको खतिवडाले बताउनुभयो ।
गत शुक्रबार इक्यान मकवानपुरका अध्यक्ष बेलप्रसाद खतिवडा र परीक्षा संयोजक सुरज लामाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो भने जे–सर्ट नेपालको तर्फबाट निर्देशक श्रीराम गिरी र महेशकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो । भाषा परीक्षा हेटौँडा–५, पिप्लेस्थित हेटौँडा सिटी कलेजमा हुनेछ । मार्च १ मा बिहान ८ बजेदेखि ११ बजेसम्म ३ घण्टाको भाषा परीक्षा हुनेछ । भाषा परीक्षामा उत्तीर्ण हुन ५० अंक प्राप्त गर्नुपर्ने छ । ५० देखि ६९ अंक हासिल गर्दा जापानिज भाषामा एन–५ तह उत्तीर्ण हुनेछ भने ७० भन्दा बढी अंक हासिल गर्दा एन–४ तह उत्तीर्ण हुनेछ ।