
हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–४, मसिनेस्थित पशुपतिनाथ माध्यमिक विद्यालयको प्रधानाध्यापकमा सपना लामा नियुक्त हुनुभएको छ । बिहीबार विद्यालय व्यवस्थापन समितिको बैठकले लामालाई प्रधानाध्यापकको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघि गत माघ १४ गते भानुभक्त आचार्यले प्रधानाध्यापकको पदबाट दिनुभएको राजिनामा स्वीकृत भएको थियो । आचार्यले पशुपतिनाथ माविमा १७ वर्ष प्रधानाध्यापकको जिम्मवारी निर्वाह गर्नुभएको थियो ।
प्राथमिक तहको स्थायी शिक्षक सपना लामा २०८० असार १० गतेबाट पशुपतिनाथ माविमा पढाउन सुरु गर्नुभएको हो । पशुपतिनाथ माविमा लामासहित ७ जना प्राथमिक तहको स्थायी शिक्षक हुनुहुन्छ भने राहत र अनुदान कोटामा २ जना माध्यमिक तहका शिक्षक हुनुहुन्छ । यस्तै निमावि तहमा ३ जना राहत कोटाका शिक्षक हुनुहुन्छ । ६ सय भन्दा बढी संख्यामा विद्यार्थी भएको विद्यालयमा २०८० सालको एसईईमा एक जना पनि विद्यार्थी उत्तीर्ण हुन सकेको थिएन ।
नवनियुक्त प्रधानाध्यापक सपना लामाले यस वर्षको एसईईमा राम्रो नतीजा हासिल हुने बताउनुहुन्छ । विद्यालय व्यवस्थापन समिति, अभिभावक, विद्यार्थीले विश्वास गरेर आफूलाई प्रधानाध्यापकको जिम्मेवारी दिएको उल्लेख गर्नुहुँदै लामाले भन्नुभयो, ‘सबैको विश्वास र सकारात्मक दृष्टिकोण राख्ने शिक्षक वर्गको साथ र सहयोगमा विद्यालयको शैक्षिक सुधारका लागि राम्रो काम गर्न सक्ने ठानेकी छु ।’
अंग्रेजी साहित्यमा स्नात्तकोत्तर उपाधि हासिल गर्नुभएकी लामाले यसअघि १७ वर्ष निजी विद्यालयमा अध्यापन गर्नुभएको थियो भने मावि अनुदान कोटामा हेटौँडा–१४ स्थित भृकुटी मावि र प्रावि राहतकोटामा कैलाश गाउँपालिका–१ स्थित गुप्तेश्वरी आधारभूत विद्यालयमा पढाउनुभएको छ । २०८० सालमा शिक्षक सेवा आयोगको परीक्षामा उत्तीर्ण हुनुभई लामाले पशुपतिनाथ माविबाटै स्थायी सेवा सुरु गर्नुभएको हो ।
हेटौँडा–४, कर्रास्थित श्रमिक माविबाट एसएलसी उत्तीर्ण गर्नुभएकी लामाले कक्षा ११, १२ र स्नातक तहको अध्ययन हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टबाट पूरा गर्नुभएको हो । लामाले कक्षा–११ र १२ मा अंग्रेजी प्रमुख विषय लिएर शिक्षाशास्त्र संकायमा अध्ययन गर्नुभयो भने स्नातक तहमा अंग्रेजी प्रमुख विषय लिएर मानविकी संकायमा अध्ययन पूरा गर्नु भएको छ । एक वर्षे शिक्षाशास्त्रको स्नातक तहको समेत अध्ययन पूरा गर्नुभएकी लामाले मकवानपुर बहुमुखी क्याम्पसबाट अंग्रेजी साहित्यमै स्नात्तकोत्तर उपाधि हासिल गर्नुभएको छ ।