हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाको आयोजनामा उपमहानगर क्षेत्रभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक (प्रअ) हरुको बैठक बिहीबार सम्पन्न भएको छ । सिद्धार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद शर्माको सभाध्यक्षमा बैठक भएको हो । बैठकमा ४७ विद्यालयका प्रअहरुको सहभागिता थियो ।
बैठकलाई सम्बोधन गर्नुहुँदै हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नमराज घिमिरेले नेपाल सरकारले आधारभूत र माध्यमिक तहमा निःशुल्क शिक्षा लागू गरेको, अधारभूत तहलाई अनिवार्य र निःशुल्क गरेको बताउनुभयो । सामुदायिक विद्यालयले अँग्रेजी माध्यमबाट पढाएको भन्दै पैसा लिनु शिक्षा ऐन नियमविपरित रहेको भन्दै विद्यालयलाई पाठ्यपुस्तक वितरणमा भार पर्न गएको भए तथ्यांक हेरेर समस्या समाधानको प्रयास गरिने बताउनुभयो ।
बैठकमा शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालले सामुदायिक विद्यालय सुधार हँदै गएकोमा खुशी व्यक्त गर्दै विद्यालयहरुबीच एकआपसमा प्रतिस्पर्धा गर्ने क्षमता वृद्धि हुनु गौरवको कुरा रहेको बताउनुभएको छ । उहाँले शिक्षक जिम्मेवार भएर प्रभावकारीरुपमा गुणस्तरीय शिक्षा प्रदान गर्न र डिजिटल प्रविधिको सही तरिकाले प्रयोग गर्न आग्रह गर्नुभयो । महाशाखा प्रमुख रिमालले विद्यालयमा लागू भएका दिवा खाजाको उचित व्यवस्थापन तथा काक्षाकोठा, शौचालयलगायत विद्यालयको वातावरणीय सरसफाई र व्यवस्थापनलाई प्रभावकारी कार्यान्वयन गर्न प्रधानाध्यापक स्वयम् जिम्मेवार हुन ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा नयाँ पाठ्यक्रम कार्यान्वयन तथा शिक्षक दरबन्दी मिलानसम्बन्धी विषय छलफल गरिएको थियो । हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गरिरहेको आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८)को विद्यार्थी विवरणमा धेरै त्रुटी आउने गरेको र उपमहानगरपालिकाले उपलब्ध गराएको ग्रेडसिट हराउने समस्या वृद्धि भएकोमा प्रधानाध्यापकहरुको ध्यानाकर्षण गराइएको थियो ।
हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका शिक्षा अधिकृतहरु सरस्वती कोइराला र सुनिता मानन्धरले महाशाखाको कार्यक्रमबारे बैठकमा जानकारी गराउनुभएको थियो । दिवा खाजा, योजना वितरण, एसआईपी, सामाजिक परीक्षणलगायतका विषयमा सहजीकरण गरिएको थियो ।
बैठकमा वंशगोपाल माविका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेले विद्यार्थी संख्या बढि भएका विद्यालयमा दिवा खाजा उपलव्ध गराउन असहज हुने बताउनुभयो । आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक वीरवंश बैठाले शिक्षा विकास महाशाखाले निर्देशिकाअनुसार लागू गरिएको दिवा खाजा कार्यक्रम सहजरुपमा उपलब्ध गराउन आपत्ति नरहेको बताउनुभयो । निर्मल माविका प्रधानाध्यापक प्रबोध बिडारीले निःशुल्क पाठ्यपुस्तक वितरणका लागि दिइएको बजेट अपुग भएको बताउनुभयो ।
वनदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक जयप्रसाद पोखरेलले शिक्षा विकास महाशाखाले भनेअनुसार लकडाउनको समयमा घरघरमा र विद्यालयमा विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरेर बिल पेश गर्दा पनि अपुग रकम प्राप्त नभएको बताउनुभयो । शंकरज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक मुकुन्द न्यौपानले दरबन्दी मिलानमा भइरहेको अलमल र बाल विकास सहजकर्ताको अभावले धेरै बालबालिका शिक्षाबाट वञ्चित भएको बताउनुभयो ।