हेटौंडाः कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि गरिएको लकडाउनले अन्य क्षेत्रसँगै न्याय सम्पादनमा पनि असर पारेको छ । बिहीबार उच्च अदालत पाटन, हेटौंडा इजलासले मकवानपुर सञ्चारकर्मीहरुसँग गरेको छलफलमा इजलासका मुख्य न्यायाधीश मोहम्मद साविर हुसेनले कोभिडका कारण भएको लामो लकडाउनका कारण न्याय सम्पादनमा केही ढिलाई भएको बताउनुभएको हो ।

मुख्य न्यायाधीश हुसेनले कुनै विवाद वा मुद्दा अदालतको प्रक्रियामा गइसकेपछि कानुनी तथा पक्ष र विपक्षको जवाफ प्राप्त नभएको खण्डमा पनि न्यायसम्पादनमा ढिलाई हुने भन्दै न्याय सम्पादन जटिल र गम्भीर विषय भएको बताउनुभयो । न्याय सम्पादन गर्न हतार गर्न नहुने भन्दै उहाँले चालु आर्थिक वर्षमा लक्ष्यअनुसार उपलब्धि हासिल गर्न नसकेको बताउनुभयो ।

सञ्चारकर्मीहरुले अदालती रिपोर्टिङ गर्दा अदालती प्रक्रिया तथा कानुनी शब्दहरुको अर्थ बुझेरमात्र समाचार तयार गर्नुपर्ने कुरामा जोड दिँदै मुख्य नायाधीश हुसेनले अदालतको गरिमा कायम राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले अदालतले गरेका कामहरु सहीरुपमा जनतासमक्ष पु¥याइदिन सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभएको छ ।

उच्च अदालत पाटन, हेटौंडा इजलासमा चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ६ सय नयाँ मुद्दा दर्ता भएको छ । यस अवधिमा दर्ता भएकामध्ये ९५ वटा मुद्दा फछ्र्यौट भएको उच्च अदालतका निमित्त रजिष्ट्रार केशवराज कौशिकले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्षको ४ सय ८ वटा मुद्दाहरु चालु आर्थिक वर्षमा जिम्मेवारी सरेर आएको छ ।

अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको चालु आर्थिक वर्षको ६ महिनामा थप भएको एक हजार ८ वटा मुद्दामध्ये २ सय ४५ मुद्दामात्र फछ्र्यौट भएको निमित्त रजिष्ट्रार कौशिकले बताउनुभयो । कोभिडका कारण न्याय सम्पादनमा असर परेका कारण लक्ष्यभन्दा कम मुद्दाहरु किनारा लगाउन सकिएको उहाँले बताउनुभयो । उच्च अदालत पाटन, हेटौंडा इजलासमा २ वर्ष नाघेको मुद्दाको संख्या भने २ वटामात्र रहेको छ ।

छलफल कार्यक्रममा उच्च अदालत पाटन, हेटौंडा इजलासका न्यायाधीशहरु राजकुमार वन, चण्डीराज ढकाल, हरिप्रसाद केसी, नागेन्द्रलाल कर्ण, मेरिना श्रेष्ठलगायत डिठ्ठा जीवनज्योति भण्डारीको सहभागिता रहेको थियो ।