प्रहरीले गर्ने कामहरु नागरिकको हितमा हुनुपर्दछ भन्ने मान्यता छ । नेपाल प्रहरीले पनि सोहीअनुसार काम गरेको छ । तर संगठन भित्रका केही व्यक्तिहरुको चरित्रले संगठनलाई बदनाम बनाउने प्रयास पनि नभएका हैनन् । प्रहरीप्रति नागरिकले विश्वास पनि गरेका हुन्छन् । तर मकवानपुरको राक्सिराङ गाउँपालिकाका नागरिकले भने अविश्वासमात्र हैन, प्रहरीविरुद्ध अनियमितता गरेको आरोपसमेत लगाएका छन् । मकवानपुरको राक्सिराङ, कैलाशलगायतका क्षेत्रमा प्रत्येक वर्ष गाँजा तथा अफिम खेती नष्ट गर्न प्रहरी परिचालन हुँदै आएको छ । अवैध खेतीविरुद्ध राज्यले नियमानुसार कारवाही गर्नु जिम्मेवारी नै हो । प्रहरीले कारवाही गर्दा पनि त्यहाँका नागरिक किन अवैध खेती छोड्दैनन् भन्ने गम्भीर प्रश्न छ ।
प्रहरीले राक्सिराङ गाउँपालिकामा पैसा लिएर गाँजाखेती नफाँडेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिएको उजुरीको प्रति सञ्चार माध्यमहरुमा समेत आएको छ । त्यस क्षेत्रमा गाँजा फँडानी गर्दा विवाद हुने गरेको भए पनि यस वर्ष अलि बढी नै गुनासो देखिएको छ । स्थानीय जनप्रतिनिधिलाई पनि थाहा नदिई प्रहरी परिचालन भएको भन्दै गाउँपालिकाले समेत असन्तुष्टि जनाएको थियो । तै पनि राज्यको दायित्व पूरा गर्ने क्रममा प्रहरीको फँडानी अभियानमा सहयोग गर्नु नागरिकको जिम्मेवारी हुन्छ । तर प्रहरीबाट अन्यायपूर्ण काम भएको मात्र नभई, आचरणविपरित नै कार्य गरेको आरोपसहित छानविनको माग गरिएको अवस्था छ । स्थानीयले लगाएको आरोप सही हो भने प्रहरी संगठनका लागि गम्भीर प्रश्न खडा भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय मनहरी र गाउँपालिका प्रहरीले गाँजा खेती गर्नेहरुसँग मोटो रकम असुल गरी फँडानी नै नगरेको स्थानीयको आरोप सामान्य होइन । गाँजा किसानसँग एकमुष्ट रकम लिएर तोकिएको स्थानमा गाँजा नफाँडेको र मागेजति रकम नदिएको किसानको मात्र फँडानी गरको आरोप प्रहरीमाथि छ । स्थानीयले आरोप लगाएकै जस्तो अवस्था हो वा होइन भन्ने कुराको स्थलगत अनुगमन हुन आवश्यक छ । तत्कालै यस कुराको निक्र्यौल गरिनु पर्दछ । ढिलो भए तथ्यमा फरक पर्नसक्ने जोखिम हुन्छ । त्यसैले सबैभन्दा पहिला प्रहरी संगठनबाट नै स्थानीय नागरिकको रोहवरमा अनुसन्धान गरिनु आवश्यक हुन्छ ।
राक्सिराङबासीले अख्तियारमा दर्ता गरेको उजुरीपत्र नेपाल पत्रकार महासंघसहित बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला प्रशासन कार्यालय मकवानपुर र लागूऔषध अनुसन्धान व्यूरो काठमाडौंलाई समेत बोधार्थ दिइएको छ । स्थानीयले उजुरीपत्रमा प्रहरीले २५ लाख रुपैयाँ असुली गरेको आरोपसमेत लगाएको छ । निम्न आयस्तर भएका बासिन्दाबाट यति ठूलो रकम असुल भएको हो भने यो भन्दा ठूलो अन्याय र रकम दिएपछि गाँजा फँडानी नभएको हो भने त्यो भ्रष्ट आचरण नै हो । यस कार्यमा संलग्नहरुको पहिचानका लागि निष्पक्ष छानविन हुन आवश्यक छ । यस्तै अनुसन्धानबाट आरोप झुठो ठहरिएमा आरोप लगाउने नागरिकहरुमाथि पनि कारवाही हुन आवश्यक छ । कोही कसैलाई रिस र आवेगका आधारमा लाञ्छना लगाउने प्रवृत्ति पनि नभएको होइन । त्यसैले अनुसन्धानबाट तथ्य छिटो सार्वजनिक हुन जरुरी छ ।