जब इस्ट ईण्डिया कम्पनी भारतमा सानो कम्पनी बनेर व्यापार गर्ने उद्देश्यले छिर्यो । तब भारतका कुनै राजनीतिक दल, धार्मिक समुदाय, बुद्धिजिविले अड्कल काट्न सकेनन् कि भारत ईण्डिया बन्दै छ भन्ने । कोइला, रेल तथा विभिन्न अमूल्य धातुको व्यापार गर्दै इस्टईण्डिया कम्पनिको फुटाउ र राज गरको सिद्धान्तले पूरै भारत कब्जामा लिन सफल भयो र त्यसपछिको राजनीतिक परिवर्तनले भारत फुटमा पुग्यो अनि बङ्गलादेश र पाकिस्तानको जन्म भयो । पश्चिमा शक्तिको पहिलो हतियार नै फुटाउ र राज गर । सकिन्छ सोझै राजनीतिक फुट, सकिन्न सामुदायिक फुट । त्यो पनि सकिने अवस्थामा छैन भने धार्मिक फुट । त्यसैको रैदेलोमा फसेको यो मेरो मुलुक आज पश्चिमाहरुको यस्तो फुटाउ र राज गर सिद्धान्तमा फस्यो कल्पनानै गर्न सकिएन ।
एमाले र माओवादीको एकताले थिलबिलाएका पश्चिमाहरु पासा पल्टिले अवस्था नआउने देखिएपछि कुनै पनि हालतमा नेकपामा एकता हुन नदिनेमा थिए । भू–राजनीति वा चीनलाई समय–समयमा खौं हान्न मिल्ने भूपरिवेस्टित एकमात्र हाम्रो जमिनलाई कुनै पनि हालतमा अस्थिर राख्न पाईयोस् भन्ने पश्चिमाहरुको बेजोड उद्देश्य छ । सतहमा देखिने परराष्ट्रस्तरका राजनीतिक भेटवार्ता होस् वा उच्च राजनीतिज्ञहरुको अन्तर्वार्तामा आउने विभिन्न दृष्टिकोणले प्रष्ट अड्कल काट्न सकिन्छ कि छिमेकी मुलुक भारत, चीन र पश्चिमा शक्ति राष्ट्रको कति दबाव र प्रभाव वा आशीर्वादले चल्दैछ हाम्रो राजनीति भन्ने ।
विभिन्न बाह्य शक्तिहरुले हाम्रो मुलुकमा कुनै पनि हालतमा अस्थिरता चाहन्छ, चाहे त्यो राजनीतिक होस् या गैरराजनीतिक । सिंगो भारतलाई मट्याङ्ग्रा बनाएर नेपालको आडमा चीनलाई तारो हान्ने पश्चिमाहरुको पहिलो नजर नेपालको अस्थिर राजनीतिमा पर्छ । पश्चिमाहरुको मट्याङ्ग्राबाट बच्न हाम्रो भूमिमा चीन अस्थिरता चाहान्छ । चीनसँग सिमाना जोडिएका देशहरुमा भाषा, धर्म, परम्परा बिल्कुलै मेल नखाने हाम्रो समुदाय अनि यता भारतसँग सबै कुरामा मेल खाने, खुल्ला सिमाना, रोटिबेटिको सम्बन्ध, आर्थिक कारोबार, धर्मिक आत्मियता अन्य धेरै कुरामा भारतसँगको हाम्रो परनिर्भरताले गर्दा पश्चिमा शक्तिले भारतलाई स्ट्राइकर बनाएर हाम्रो मुलुक माथि फुटको खेल खेल्दै छ ।
विश्व इतिहासमा कम्युनिष्ट पक्षमा सबैभन्दा धेरै प्रतिशत मतदान भएको हाम्रो मुलुकमा अस्थिरता ल्याउन पश्चिमालाई कि कम्युनिष्ट एकता हुन नदिने, भौगोलिक रुपमा सामुदाय खण्डित गर्ने वा धार्मिक रुपमा द्वन्द्वको विजारोपण गरिदिने यिनै बाटोहरु छन् । माओवादीको सशस्त्र द्वन्द्वपछि २०६२÷६३ को जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक गणतन्त्रलाई नेपाली जनताले सहर्ष स्विकार्दै बनाएको संविधानले धेरै अस्थिरतावादी शक्तिहरुको निन्द हराम गरिदिएको थियो । त्यसैकारण विभिन्न समयमा धर्मिक कारण, प्रादेशिक विभाजनको मुद्दा उठाउने, नागरिकताका मुद्दा जस्ता विभिन्न बकम्फुसे मुद्दा उचाल्न विभिन्न समुहलाई सहयोग गरियो । अघोषित नाकाबन्दी पनि तिनै अस्थिरता चाहने शक्तिको बीउमा बसेर गरियो ।
आन्तरिक द्वन्द्वमा रहेपनि तत्कालिन एमाले बलियो कम्युनिष्ट पार्टी थियो । फुटाउ र राज गरको सिद्धान्तमा लागेकाहरु २०६२/६३ को जनआन्दोलनपछि नै सशंकित थिए नेपालका सबै कम्युनिष्ट मिल्यो भने नेपाल सुदृढ र बलियो हुन्छ भन्नेमा । कम्युनिष्ट एकतालाई धुमिल बनाउन माओवादीलाई कालो सूचिमा राख्ने काम गरियो र कमरेड प्रचण्डलाई १७ हजार जनता मारेको भन्ने आरोप थोपरियो । मुलुककै ठूलो कम्युनिष्ट पार्टी एमालेको दृष्टिकोणमा र पूरै विश्वको नजरमा माओवादीलाई नराम्रो र गलत देखाउन सकेमा कम्युनिष्ट एक नहुने देखेर विभिन्न मुद्दा देखाउने र दोष देखाउने काम धेरै भयो । नेपालले धेरै छिटो विकास गर्ने भो भन्ने चिन्ताले पिरोलिएकाहरुले प्रादेशिक संरचनाको खुलेरै विरोध पनि गरे । अन्त्यमा कुनै सीप नलागे धर्मिक द्वन्द्वको बिजारोपण गने पश्चिमा संस्कार नयाँ र नौलो होइन ।
यी माथिका सबैखाले फुटतन्त्रको सामना गरेर अगाडि बढेको नेकपा एकतालाई ठूलो राजनीतिक परिवर्तनको ढोका खुलेको मानियो । दुई ठूला कम्युनिष्टहरुको एकताले निक्कै खुशी नेपाली जनता आज फेरि फुटको राजनीतिले देश नै दुःखित भएको हेरेर बस्न बाध्य छन् । लामो समयपछि फिरेको बुद्धिमा फेरि किन बिर्को लाग्यो भन्ने प्रश्न आम जनताको कम्युनिष्ट नेतामाझ रहेको छ । कम्युनिस्ट एकतापछि बनेको कमरेड केपि शर्मा ओली नेतृत्वको स्थिर सरकारले गर्दै आएको काममा आत्मसन्तुष्टि रहँदै आएका जनता फेरि यो राजनीतिक रैदेलोका कारण नेतालाई गाली दिन थालेका छन् । कम्युनिष्टहरुको एकतापछि देशले मुहार फेर्ने विश्वासमा रहेका जनता फेरि हिजोकै अवस्थामा देश पुग्नेमा चिन्तित छन् । नेकपा भित्रको आन्तरिक द्वन्द्वले राणा शासन, पञ्चायत र राजाको शासन फालेर हजारौं सहीदहरुले रगत बगाएर ल्याएको लोकतान्त्रिक गणतन्त्रको जगनै धरापमा परेको अड्कल काट्न सुरु गरेको छ ।
विभिन्न समयमा बनेको छ महिने सरकार, नौ महिने सरकारहरुबाट आजित जनताले पछिल्लो पूर्णकालिन सरकारसँग धेरै अपेक्षा राखेका थिए र छन् पनि । जनताको अपेक्षा अनुरुप काम गर्दै आएको सरकारमाझ अस्थिरता चाहने विभिन्न शक्तिको बुई चडेर कम्युनिष्ट भित्रैबाट जनअपेक्षालाई लात हानिँदै छ । अस्थिर सरकारलाई प्रयोग गरेर खान पल्केका कमाउनिष्टहरुको लामो लर्कोले पनि नेकपा एकता र स्थिर सरकारको बर्खिलाप बोल्दै छन् । हाम्रो मुलुक प्रयोग गर्दै छिमेकी सताउने शक्तिको अर्को लर्को पनि छ । यिनै सामन्त सोच, विस्तारवादी सोच अनि हेपाहा र पेलाहा प्रवृत्ति भएकाहरुका पछाडि लाग्नेका कारण आज नेकपा दुई ध्रुबमा विभाजित हुन पुगेको छ ।
जनभावना अनुसार एक भएको नेकपा अनि जनताको अमुल्य मतबाट सिञ्चित यो लहलहाउँदै गरेको सरकारले गर्दै आएको कामबाट अनि अध्यक्ष कमरेड केपि शर्मा ओली र प्रचण्डको मिलाप देखेर तर्सिएकाहरुले रचेको चक्रव्यूहमा हाम्रा कम्युनिष्ट नेता फस्दै गएका छन् । नेकपा भित्रको यो सत्ता, पद र पावरको रैदालोले कुनै पनि परिस्थितिमा हामी, नेकपा र सिंगो देशलाई फाइदा गर्दैन भने हाम्रा नेतृत्व पंक्तिले किन यसैमा सिंगौरी खेलेका ? नेकपा एकतामा कमरेड प्रचण्ड र केपि ओलीको मात्रै योगदान छैन । यसमा देशको भविष्य र युवाको सपना पनि घुलेको छ । त्यसैले नेकपा एकढिक्का हुनुको विकल्प छैन । देश विकास र युवाको सपना साकार पार्न अनि समृद्ध नेपाल सुखी नेपालीलाई साकार पार्ने एकमात्रै शुत्र नेकपाको सुदृढीकरण र एकता नै हो ।
यस परिस्थितिले हाम्रो देशमा विकास, स्थिर राजनीती, आर्थिक–सामाजिक उन्नति हेर्न नसक्ने कै भलो हो । फुटाउ र राज गर सिद्धान्तलाई बुझेर त्यस्ता षडयन्त्रबाट बचेर कहिले अगाडि बढ्लान नेकपाका नेता ? नेकपा जत्रो ठूलो कम्युनिस्ट पार्टी फुटाउन सफल भएको दिन कत्तिको घरमा रात्रीभोज हुन्छ भन्ने हाम्रो नेतालाई थाहा नभएको पनि होइन । तै पनि तिनैको बुइँ चडेर सीमित स्वार्थमा हिँड्ने अनि देशलाई अन्धकारतिर धकेल्न खोज्नेको नेकपा भित्र किन यत्रो जमात छ ? के हाम्रो नेतृत्वलाई ‘भाइ फुटे गँवार लुटे’ भन्ने ज्ञान छैन ? र नेपालको स्थिर राजनीतिले चिन्तित कुन शक्ति नेकपा भित्र कुन दुलोबाट छि¥यो र यो भड्खारो बनाउँदै छ खोज्न र चिन्न जरुरत छ ।