नेकपा ओली समूहको छलफलमा सहभागी हेटौंडाका जनप्रतिनिधिहरु ।

हेटौंडाः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले सोमबार हेटौंडा उपमहानगरपालिकामा प्रतिनिधित्व गर्ने विभिन्न वडाका जनप्रतिनिधिहरुसँग छलफल गरेको छ । ओली पक्षले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा नगरभित्र प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुसँग छलफल गरेको हो ।

नेकपा जिल्ला कमिटी सचिवालय सदस्य गोपाल श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा केन्द्रिय सदस्य रामेश्वर रानाको प्रमुख आतिथ्य थियो । छलफलमा केन्द्रिय सदस्य रानाले पार्टी भित्रैबाट असहयोग भएपछि प्रधानमन्त्री ओली संसद विघटन गरी मध्यावधि चुनाव गर्न बाध्य हुनुभएको बताउनुभयो । प्रचण्ड र माधव नेपालको गलत प्रवृतिका कारण पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीले यस्तो कदम लिनुभएको भन्दै फेरी पनि भ्रम छर्ने काम भइरहेकोले यो विषयमा जनतामाझ छरिएको भ्रमहरु चिर्न जरुरी रहेको उहाँको भनाइ थियो । पद र व्यक्तिगत स्वार्थ पूर्तिका लागि पार्टी भित्रैबाट प्रचण्ड र माधव नेपालबाट पटक–पटक असहयोग भएपछि गलत प्रवृतिको विरुद्धमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले जनतामाझ जाने निर्णय लिनुभएको उहाँले बताउनुभयो ।

भेलालाई सम्बोधन गर्नुहुँदै नेता रघुनाथ खुलाल ।

कार्यक्रममा अर्का केन्द्रिय सदस्य सुवासचन्द्र ठकुरीले एकीकरणको हर्ष बोकेर सुखी नेपाली, समृद्ध नेपालको लक्ष्य बोकेर एकीकरणको मर्मलाई स्वीकार गरी अघि बढिरहेको परिवेशमा आफ्नै पार्टीका प्रथम अध्यक्ष जसले सरकारको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्री केपि शर्मा ओलीप्रति घेरावन्दी गर्ने काम भएको बताउनुभयो । उहाँले राष्ट्रपति तथा प्रधानमन्त्रीप्रति महाअभियोग तथा अविश्वासको प्रस्ताव पेस गर्ने जस्ता धृष्टता गर्न समेत पछि नपर्नुले व्यक्तिगत स्वार्थ र पदका लागि अत्यन्त निकृष्ट व्यवहार देखाउने काम प्रचण्ड र माधव नेपालले देखाउनुभएको बताउनुभयो ।

कार्यक्रममा अर्का केन्द्रिय सदस्य अनन्त पौडेलले पार्टी नेतृत्वलाई नै बदनाम गर्ने काम प्रचण्ड र माधव नेपालले गर्नुभएको बताउनुभयो । उहाँहरु पदकै लागि सडकमा पुग्नुभएको समेत उहाँले बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टीको यथार्थ दृष्टिकोण, सिद्धान्त र कार्यदिशाका बारेमा जनता माझ जानुको विकल्प नभएकै कारण पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीले यस्तो कदम लिनुभएको उहाँको भनाइ थियो ।
कार्यक्रममा अर्का केन्द्रिय सदस्य रघुनाथ खुलालले भ्रम चिर्न र पार्टी हितमा लाग्न सम्पूर्ण जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । उहाँले केपी ओलीको नेतृत्वमा नै चुनाव जितेर करिब दुई तिहाईको सरकार बनेको भन्ने कुरालाई भुल्न नहुने भन्दै भूकम्प, नाकाबन्दी र महामारीमा ओलीको नेतृत्वमा भएका कामहरूलाई जनताले मुल्यांकन गर्ने बताउनुभयो ।

विपत्तिमा पनि विकासका ठुला ठुला आयोजनाहरू बढाएर ओलीले जनताको विश्वास जित्नुभएको भन्दै ओलीको सफलतालाई डाह गर्नेहरूले नै ओलीलाई घेराबन्दी गरेको उहाँको भनाइ थियो । पार्टी एकता देश र जनताका लागि आवश्यक भए पनि स्वार्थ बोक्नेहरुले बाध्यतामा एकता गरेको भन्ने कुरा प्रष्ट देखिएको उहाँले बताउनुभयो । देश र जनताका लागि पुनः एकपटक सबै एक भएर लाग्नु पर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेकपा केन्द्रिय सदस्य जुनेली श्रेष्ठ, नेकपा जिल्ला कार्यालय सदस्य एकलाल श्रेष्ठ, जिल्ला कमिटि सदस्य एवम् भीमफेदी गाउँपालिका उपाध्यक्ष पार्वती राना, जिल्ला कमिटि सदस्य एवम् जिसस मकवानपुरका सदस्य देवराज रिमाल, गणेश कुमारी प्रधान, जिल्ला कमिटि सदस्य एवम् ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल, ७ नम्बर वडाअध्यक्ष राजन थापा, ३ नम्बर वडा अध्यक्ष रामकुमार पुडासैनी, २ नम्बर वडा अध्यक्ष हरि राउत, ९ नम्बर वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारी, १० नम्बर वडा अध्यक्ष किताप सिं लामा, ११ नम्बर अध्यक्ष गोकर्णप्रसाद पराजुली, १४ नम्बर वडा अध्यक्ष दिपक खड्का, १७ नम्बर वडा अध्यक्ष भैरव बहादुर राईलगायत वडासदस्यहरु, नगरकार्यपालिकाका सदस्यको उपस्थिती थियो ।