हेटौंडाः प्रेस काउन्सिल नेपालले मकवानपुरका पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ । कोरोना भाइरसको महामारीमा सञ्चारकर्मी र सञ्चार माध्यममा परेको प्रभाव र लैंगिक हिंसा न्यूनीकरणमा सञ्चार माध्यमको भूमिका विषयमा अन्तरक्रियाको आयोजना गरिएको हो ।
नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा भएको कार्यक्रममा प्रेस काउन्सिल नेपालकी सदस्य संगीता खड्काले काउन्सिलले कोरोना भाइरस संक्रमणको जोखिमका बेला पत्रकारको हकहितका लागि काम गरेको बताउनुभयो । उहाँले काउन्सिलको काम मुख्यतः पत्रकार आचारसंहित पालना गराउने भएको पनि स्पष्ट पार्नुभयो । पत्रकारिता पेशालाई मर्यादित बनाउने उद्देश्यले जागरण अभियान निरन्तर सञ्चालन भइरहेको र मर्यादित पत्रकारिताको पक्षमा काउन्सिलले आवश्यक सहजीकरण गर्ने उहाँको भनाइ थियो । साना लगानीका मिडियाको संरक्षणमा काउन्सिलले सहयोग गर्ने सदस्य खड्काले बताउनुभएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष प्रताप विष्टले सदैव अग्रपंतीमा रहेर पत्रकारले समाचार संकलन तथा सम्प्रेषणको कार्य गरिरहेको स्मरण गनुृहुँदै कोरोना महामारीका बेला पत्रकारको स्वास्थ्य सुरक्षा र उपचारमा पनि प्राथमिकता हुनुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरिप्रसाद हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय समिति सदस्य पुरुषोत्तम सुवेदी, प्रेस काउन्सिल नेपालका शाखा अधिकृत विष्णु शर्मा लम्साल, मिडिया अनुगमनकर्ता सम्झना पौडेलको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी सञ्चारकर्मीले लोककल्याणकारी विज्ञापनको भुक्तानी सहज हुनुपर्ने, पत्रपत्रिका वर्गीकरणमा भएका कमिकमजोरी सच्याउनुपर्ने सुझाव दिएका छन् ।