हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालयहरु सञ्चालनमा ल्याउने तयारी गरेसँगै अभिभावकहरु द्विविधामा छन् । कोरोना महामारीको अवस्थामा आफ्ना छोराछोरीलाई भौतिक उपस्थिति गराएर विद्यालय पढ्न पठाउने या नपाठाउने द्विविधामा रहेको हेटौंडा–५ का सुबोध भुजेलले बताउनुभयो । कोरोना महामारीको अवस्थामा नपठाउँदा एक वर्षको समय खेर जाने भएकोले विद्यालयहरुले कक्षा अपग्रेड गराउनुपर्ने भुजेल बताउनुहुन्छ ।
सानो कक्षामा पढ्ने विद्यार्थीले दूरी कायम नगर्ने तथा स्वास्थ्य सुरक्षा नमान्ने भएकोले समस्या हुन सक्ने बताउनुभयो । उहाँले विद्यालयमा पढाई नहुँदा छोराको पठन क्षमता नै कमजोर भएको तथा लामो समय खेल्नमै बिताउने गरेको बताउनुभयो । थोरै समय भएको अनलाइन कक्षा पनि सानो कक्षाका विद्यार्थीहरुलाई प्रभावकारी भएको छैन ।
यस्तै हेटौंडा–१ की लक्ष्मी आले मगरले भने विद्यालय खुले स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय पठाउने योजनामा रहेको बताउनुभयो । लामो समयदेखि विद्यालय बन्दा हुँदा उनीहरु धेरै अल्छी भएको बताउनुहुँदै विद्यालयमा जाँदा जस्तो घरमा अध्ययन नगर्ने गरेको बताउनुभयो । मोबाइल र खेल्नमै धेरै समय बिताउने भएकोले विद्यालय खुले पढ्न पठाउने बताउनुभएको छ । कोरोनाको जोखिम छ भनेर घरमै राख्दा पनि राम्रोसँग अध्ययन नगर्ने भएको भन्दै शिक्षकको प्रत्यक्ष निगरानीमा हुनुपर्ने उहाँको भनाइ छ ।
यता अभिभावक संघ मकवानपुरले भने हेटौंडा उपमहानगरपालिकामा विद्यालय खुलेर भौतिक रुपमा विद्यार्थीहरु पठाउनुपर्ने भएमा अभिभावकहरुले विद्यालयमा पठाउँदा सुरक्षित हुने भए पठाउँदा उचित हुने तथा असुरक्षित भन्ने लागेमा नपठाउँदा राम्रो हुने जनाएको छ । नेपाल राष्ट्रिय अभिभावक संघ मकवानपुरका अध्यक्ष धु्रव चौलागाईले विद्यालयसँग समन्वय गरेर त्यहाँ कोरोनाबाट बच्न अपनाइएका सुरक्षाका सावधानीहरु चित्त बुझेमा मात्र विद्यालयमा पढ्न पठाउनुपर्ने बताउनुभयो ।
विद्यालय पठाउने नपठाउने द्विविधामा बस्नुभन्दा पनि कोरोनाको जोखिममा आफ्ना छोराछोरी विद्यालयमा सुरक्षित हुन्छन् भने मात्र पठानुपर्ने धारणा बनाउनुपर्ने उहाँको भनाइ छ । हालसालै हुम्लाको नाम्खा गाउँपालिकाको याल्वाङस्थित महाबौद्ध माध्यमिक विद्यालयमा अध्ययनरत ५१ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाभरका शैक्षिक संस्था बन्द गरिएको घटना पनि देखिएको भन्दै विद्यालयहरुले स्वास्थ्य सुरक्षा कडाइका साथ लागु गर्नुपर्ने देखेको उहाँले बताउनुभयो ।
करिब ८ महिनादेखि बन्द रहेको हेटौंडाका विद्यालयहरु अब भने क्रमशः खुलाउने तयारी भएको छ । थोरै विद्यार्थी संख्या भएको विद्यालयमा कक्षाको घण्टीसमय घटाउने, फरक फरक कक्षा सञ्चालन गर्ने तथा विद्यार्थी संख्याको आधारमा जोर–बिजोर प्रणाली अवलम्बन गर्ने भनेर योजना बनिरहेको छ ।
हेटौंडा–१ स्थित अमर माविले भने आज आइतबारदेखि विद्यालय खुलाउने तर एक हप्तासम्म कत्तिको विद्यार्थीहरु आउँछन् त्यसको आधारमा जोर बिजोर गरेर विद्यालय सञ्चालन गर्ने तयारी गरेको विद्यालयकी प्रधानाध्यापक मालती उप्रेतीले बताउनुभयो । विद्यालय खुलेपछि अभिभावक भेला गरेर पनि सल्लाह गर्नुपर्ने देखिएको उहाँले बताउनुभयो ।
जोखिम भएकोले सुरक्षाका मापदण्डहरुको पालना गरेर मात्रै विद्यालय अब सञ्चालन हुने उहाँको भनाइ छ । यस्तै हेटौंडा उपमहानगरपालिकाले आज आइतबार सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग छलफल गर्दैछ । विद्यालय सञ्चालन गर्न के कसरी सकिन्छ भनेर हेटौंडा उपमहानगरपालिकाले प्रधानाध्यापकहरुसँग छलफल गर्दैछ । यसअघि हेटौंडाको निजी विद्यालयका प्रधानाध्यपकलाई बोलाएर हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले छलफल गरिसक्नुभएको छ ।