हेटौंडाः व्यवसायी राजकुमार न्यौपानेले नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा आफ्नो उम्मेदवारीबारे जानकारी गराउनुभएको छ । आइतबार बिहान गृहनगर हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी महासंघको ५४ औं साधारणसभामा आफूले बागमती प्रदेशबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको जानकारी दिनुभएको छ ।
आफू निवर्तमान अध्यक्ष रहेको मकवानपुर उद्योग वाणिज्य संघले उम्मेदवारीका लागि सिफारिस नदिए पनि रामेछाप उद्योग वाणिज्य संघको सिफारिसमा उम्मेदवारी दर्ता गरिएको न्यौपानेको भनाइ छ । आफू निवर्तमान रहेको संस्थाका पदाधिकारीको मन जित्न नसकेर सिफारिस नपाएको हुन सक्ने बताउनुहुँदै उहाँले रामेछाप उद्योग वाणिज्य संघको साथमा आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको बताउनुभयो । प्रदेशको राजधानी समेत रहेको जिल्ला मकवानपुरबाट आफ्नो उम्मेदवारी प्रदेशको औद्येँगिक विकासका लागि भएको न्यौपानेको भनाइ छ ।
सबैको साथ र सहयोगमा सर्वसम्मत निर्वाचित हुन प्रयत्न गर्ने विश्वास व्यक्त गर्नुहुँदै सर्वसम्मत प्रयत्न सफल नभए प्रजातान्त्रिक पद्दतिबाट आफूले निर्वाचनमा सहभागी हुने बताउनुभएको छ । एकजना केन्द्रीय सदस्य पदका लागि मकवानपुरका राजकुमार न्यौपानेसँगै सिन्धुपाल्चोकका राजेन्द्र श्रेष्ठ र चितवनका सहनलाल प्रधान पनि बागमती प्रदेशबाट केन्द्रीय सदस्य पदमा उम्मेदवार रहेका छन् । मकवानपुरबाट मकवानपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अरुण राज सुमार्गी पनि केन्द्रीय सदस्यको उम्मेदवार हुनुहुन्छ ।