पञ्चायत, प्रजातन्त्र र गणतन्त्र सबैखाले राजनीतिक व्यवस्थामा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्ता राजनीतिमा उपस्थिति जनाउँदै आयो । गणतन्त्र नेपालको दोस्रो निर्वाचनमा संघीय संसदमा एउटा मात्रै सिटमा सिमित बन्न पुगेको राप्रपा मकवानपुरमा प्रमुख राजनीतिक शक्तिको रुपमा रहेको छ । गणतन्त्र यता टुटफुटबाट गुज्रिएको राप्रपा यतिबेला जोडबलमा अग्रसर छ । राप्रपा मकवानपुर यो कोरोनाको कहरका बेला पनि वडा–वडामा संगठन विस्तारमा सक्रिय हुन थालेको छ । राप्रपाको पछिल्लो सक्रियता, सरकारको काम, प्रतिपक्षीको रुपमा राप्रपाको भूमिकाका विषयमा समाज सम्पादक सुरेश श्रेष्ठले राप्रपा मकवानपुरका अध्यक्ष एवम् केन्द्रीय सदस्य मधु अधिकारीसँग गरिएको कुराकानीः
समाजः वडा वडामा युवामाझ गइरहनुभएको छ । वडा वडामा पार्टीका कार्यकर्तामाझ तपाइँहरुले अहिले लैजाने सन्देश या योजना के छ ?
अधिकारीः अहिले राप्रपा र राप्रपा संयुक्तबीच पार्टी एकीकरण भएको छ । एकीकरणको क्रममा राप्रपाको चुनाव चिन्ह हलो र झण्डामा गाई चिन्ह राखिएको छ । मकवानपुर जिल्लामा समायोजन भइसकेको छ । जिल्लाको तल्लो तहमा समायोजन गर्ने, कोरोना संकटका बेला सचेतना अभिवृद्धि गर्ने, पार्टी संगठनलाई बलियो बनाउने संरचना निर्माण गर्ने योजना लिएर जाँदैछौं ।
समाजः मकवानपुरमा राप्रपाको जिल्ला तह र स्थानीय तहमा पार्टीको कुन–कुन पक्ष कमजोर र कुन–कुन पक्ष सवल देख्नुहुन्छ ?
अधिकारीः मूलरुपमा हामी सांगठनिक रुपमा कमजोर छौं जस्तो लाग्छ । हामीले संगठन राम्रो बनाउन सकेको भए हामी मकवानपुर जिल्लामा राम्रो अवस्थामा हुन्थ्यौं, विगतका निर्वाचनमा हाम्रो राम्रो नतिजा आउँथ्यो । विगतमा राप्रपाको राम्रो अवस्था भएको स्थान हो मकवानपुर । बीचमा राजनीतिक घटनाक्रम र उतारचढावले सांगठिन रुपमा हामी केही कमजोर रह्यौं । त्यसैले अहिले हामीले अरु नीति, विचार भन्दा पनि सांगठनिक रुपमा आफूलाई अलि चुस्त दुरुस्त बनाउनुपर्छ भन्ने लागेको छ । सबै संरचनाहरु निर्माण गर्ने र क्रियाशील सदस्य १० हजार पुर्याउने लक्ष्य लिएका छौं ।
समाजः १० हजार संगठित सदस्य बनाउने भनिरहनुभएको छ । तर, राप्रपाका कार्यकर्ता त अन्य दलमा आकर्षित भइरहेको देखिन्छ । यस्तो परिस्थितिमा राप्रपाप्रति आकर्षित हुनुपर्ने मुद्दा या कारणहरु के के छन् ?
अधिकारीः हामीलाई के लाग्छ भने हामीले विगतमा जे जस्ता त्रुटी गर्यौं । नतीजा नराम्रो आउनुमा हाम्रो नीति, विचारमा कमि कमजोरी भयो कि भनेर निर्मम ढंगले समीक्षा गरेका छौं । यसरी हेर्दा मलाई लाग्छ रणनीतिक रुपमा त्यतिबेला कमजोर रह्यौं । तर, नीति, विचारका हिसाबले अहिले पनि हामी सशक्त छौं । अहिले पनि हाम्रो विचार सक्षम र सवल छ भन्ने लागेको छ । चुनाव अगाडिको तालमेल र सहमति गर्ने कमजोरीले हामी कमजोर जस्तो देखिएको हो । १६० स्थान खाली राखेर हामीले ५ स्थानमा मात्रै उम्मेद्वार उठायौं । खाली भएपछि त त्यहाँ कसैले भोट हाल्दैनन् । यस्ता धेरै खालका कमजोरीले गर्दा हामी यो अवस्थामा आएका हौं । त्यसैले गर्दा हाम्रा नीति पनि सवल छ, मुद्दा, एजेण्डा पनि प्रभावकारी छ, विचार पनि हाम्रो सशक्त छ भन्ने ठम्याई छ । संवैधानिक राजतन्त्र, सनातन हिन्दु धर्म र संघीयता भन्दा पनि स्थानीय स्वायत्त शासनलाई बलियो बनाउनुपर्छ भन्ने विषय र उपादेयता झनै बढेर आएको छ । गणतन्त्रकै विषयमा पनि हामीले शासकीय स्वरुपमा फरक मत राखेका छौं ।
समाजः तीनै तहका सरकारको कामको विषयलाई लिएर कसरी समीक्षा गर्नुहुन्छ ?
अधिकारीः तीन तहको भन्दा पनि हामी त वास्तवमा दुई तहको मात्रै सरकारमा विश्वास गर्छौं । अहिले तीन तहको सरकारबीच तालमेल नै छैन । तीन तहको सरकार तीनतिर फर्किएको छ । संघीय सरकारले कतिपय अधिकार प्रदेश सरकारलाई दिएकै छैन । अधिकार प्रत्यायोजन गर्न सकेको छैन ।
समाजः प्रदेश सरकार आफैं पनि आफ्नो अधिकार खोस्न सक्दैन, बोक्न सक्दैन, लागू गर्न सक्दैन भनेर विश्लेषण गर्ने गरिएको पनि छ नि ?
अधिकारीः त्यो पनि हुन सक्छ । संघीय सरकार पनि आफ्नै पार्टीको भएकोले विरोध गर्दा मुख्यमन्त्रीबाट हट्नु पर्ने हो कि भन्ने डर पनि होला । यस्ता धेरै किसिमका डर त्रासले पनि काम गर्ला । जुन किसिमले स्वायत्त सरकार हुनुपर्ने थियो त्यो अधिकार नै छैन । केन्द्रको मातहतको सरकार जस्तो मात्रै छ । यो हटाइदिए पनि हुन्छ ।
समाजः स्थानीय सरकारको अभ्यास कस्तो छ ?
अधिकारीः स्थानीय सरकारको त ठिक छ । हामीले सोँचेकै अवधारणा हो स्थानीय सरकारको । स्थानीय सरकारले जुन खालको अधिकार पाएको छ, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको यही ढंगबाट अझै सवल बनाउँदै लैजानु पर्छ । किन भने स्थानीय सरकार भनेको प्रत्यक्ष जनतासँग सरोकार राख्ने तह हो । हामीले सिंहदरबार ल्यायौं भन्ने अनुभूति गराउने भनेको स्थानीय सरकार, गाउँको सरकार, वडाको सरकार यसैलाई सवल बनाउने हो । तर, यहाँ त यो पनि देखिएको छैन । यहाँ त यस्तो बिग्रिएको छ, तलदेखि माथिसम्म । बडो दुख लाग्छ । स्थानीय सरकारसँग यत्रो अधिकार भएर पनि कार्यान्वयन गर्न सकिराखेको छैन । भ्रष्ट्राचार यस्तो पिरामिड जस्तो भएर गएको छ तलदेखि माथिसम्म । अहिले कोभिडकै समयमा पनि स्थानीय सरकारको प्रभावकारिता देखिनु पथ्र्यो । जस्तो गरिबलाई राहत दिने प्याकेज घोषणा गर्नुपथ्र्यो, संक्रमितहरुलाई समन्वय गर्ने काम पनि प्रभावकारी बन्न सकेको छैन । धेरै काम गर्न सक्नुपथ्र्यो त्यो हुन सकेको छैन । यी सबै कुरामा फितलो छ ।