केही दिनयता जिल्ला समन्वय समिति मकवानपुरले मकवानपुरका स्थानीय तहको अनुगमन गरिरहेको छ । आर्थिक वर्षको अन्त्यतिर विकास निर्माणका कार्य र स्थानीय तहको प्रगतिका बारेमा समन्वय समितिको अनुगमन हुनु सकारात्मक पक्ष हो । स्थानीय तहको अनुगमनकै विषयमा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः
समाजः जिससबाट तपाईहरुले स्थानियतहहरुको अनुगमन गरिरहनु भएको छ । खास किन अनुगमन गर्नुभएको हो ?
खुलालः अनुगमन गर्नु जिल्ला समन्वय समितिको जिम्मेवारी र दायित्व पनि हो । हामीले समन्वय र सहजीकरणलाई अगाडि बढाउनको लागि र सन्तुलित विकास गर्नको लागि अनुगमन गरिएको हो । खासगरी भौतिक पुर्वाधारको क्षेत्रमा कसरी काम भैरहेको छ, सामाजिक क्षेत्रका, शिक्षा, स्वास्थ्यका योजनाहरुमा कसरी काम भैरहेको छ भन्ने सन्दर्भमा र अरु सर्वागिण विकास, साँस्कृतिक, खेलकुद, पर्यटन लगायतका क्षेत्रमा सन्तुलित विकास भएको छ, छैन भनेर पनि जानकारी लिन अनुगमन गरिएको हो । प्राकृतिक स्रोत र साधनको स्थानीय तहले कसरी प्रयोगमा ल्याएको छ भनेर पनि र ढुङ्गा, गिटि, बलुवालाई कसरी प्रयोग गरेर राजश्व बृद्धि गरेको छ भनेर नियमित अनुगमन गरेको हो । समग्रमा सन्तुलित विकासको अवधारणालाई अगाडि लिएर जान आवश्यक सुझाव दिँदै हामीले अनुगमन गरेका हौं ।
समाजः अनुगमनको क्रममा स्थानीय तहहरुले के कस्ता राम्रा कामहरु गरेको पाउनुभयो ?
खुलालः धेरै स्थानीय तहहरुले चालु आर्थिक वर्षसम्म पनि पूर्वाधारको क्षेत्रलाई विशेष महत्व दिएको र काम भैरहेको देखिन्छ । धेरै स्थानीय तहहरुले खानेपानीको र भौतिक निर्माणमा उचित काम भएको देखिन्छ । पुर्वाधारको क्षेत्रमा गाउँपालिका भवन निर्माणदेखि वडाहरुको भवन निर्माणसम्म योजनावद्ध ढंगले काम गरिरहेको देखिन्छ । कृषिलाई महत्व दिएर योजनाहरु ल्याउनुभएको छ । पशुपालनमा योजनावद्ध रुपमा काम भैरहेको छ । योजनाहरुको परिणाम देखिने अवस्थामा पुगेको देखिएको छ ।
समाजः तपाइहरुले अनुगमनको क्रममा स्थानीय तहहरुले अझै ध्यान दिनुपर्ने कुराहरु के के देख्नुभयो र कस्ता सुझावहरु दिनुभयो ?
खुलालः स्थानीय तहहरुमा अहिले पनि देखिएको समस्या साना-साना टुक्रे योजनाहरुले प्रभाव पारेको देखिन्छ । स्थानीय तहहरुले सुधार्नुपर्ने पक्ष योजनाको प्राथामिकतालाई महत्व दिनु पर्छ । समग्र विकासलाई ध्यान दिनु पर्छ । मैत्रिपूर्ण गाउँपालिका निर्माण गर्दै गर्दा भौतिकलाई विकास गर्दै गर्दा चेतनालाई पनि सँगै लिएर जानुपर्ने देखिन्छ भन्ने सुझावहरु पनि दिएका छौं ।
समाजः अनुगमनका क्रममा स्थानीय तहहरुको कामको विषयमा सर्वसाधारणसँग पनि बुझ्नुभयो ?
खुलालः कतिपय ठाउँका स्थानीयहरु स्थानीय सरकारको कामले खुसी भएको भेटियो र कतिपय ठाउँमा यस्तो गरिदिए हुन्थ्यो भन्ने जस्तो भेटियो । समग्रमा स्वभाविक प्रतिक्रिया आएको छ ।
समाजः स्थानीय तहहरुमा कतै-कतै अनियमितताको कुरा आइरहन्छ । यसमा कसरी कुरा भयो स्थानीय तहका पदाधिकारीहरुसँग ?
खुलालः यसमा सबै जननिर्वाचित जनप्रतिनिधिले हामी सबैका हौं भन्ने कुरा सोच्नु पर्छ । निर्वाचित भएपछि पार्टिगत हिसाबले होइन सबैको हुन्छ । त्यसैले त्यहि धाराणा राख्नु पर्छ ।
समाजः जिल्ला भित्र स्थानीय तहहरुको आपसमा सहकार्य र समन्वय गरेको देखिएको छैन । तपाईले यसलाई कसरी लिनुभएको छ ?
खुलालः स्थानीय तहहरुबीच जिल्ला समन्वय समितिले सहजीकरण गरिरहेको छ । हामी हरेक महिना स्थानीय तह समन्वय बैठक बस्छौं । त्यो बैठकमा स्थानीय तहहरुको समस्याका कुराहरु पनि आउँछन्, राम्रा कामका कुराहरु पनि त्यहाँ आउँछन् । यि सबै कुरा हरेक महिना जिससले समन्वय गर्छ । प्रत्येक वर्ष स्थानीय तहहरुको समिक्षा बैठक बस्छौं । त्यस बैठकमा सबै राम्रा काम, कमिकमजोरी सबैको समिक्षा हुन्छ । त्यसैले स्थानीय तहहरु बीच समन्वय हुँदैन भन्ने कुरा त्यति उपयुक्त होइन ।