फाइल तस्विर

हेटौंडाः बागमती प्रदेश प्रहरीले आर्थिक प्रलोभनमा पर्ने प्रहरीलाई कारवाही गरेको छ । प्रदेश प्रहरीले आर्थिक प्रलोभनमा परेका ४ जना ट्राफिक प्रहरीलाई कारवाही गरेको जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर, जिल्ला प्रहरी कार्यालय मकवानपुर र चितवनमा कार्यरत ४ जना प्रहरीलाई सवारी चालकसँग विभिन्न बहानामा रकम लिएको भेटिएपछि नियन्त्रणमा लिई प्रदेश प्रहरी कार्यालय हेटौंडामा झिकाई आवश्यक कारवाही भैरहेका बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले मंगलबार जानकारी दिएको छ ।

कारवाहीमा परेका ४ जना प्रहरीमध्ये २ जना ट्राफिक प्रहरी कार्यालय मकवानपुरको रातोमाटे र ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनमा कार्यरत रहेको र २ जना ईलाका प्रहरी कार्यालय रामनगर चितवन र इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरमा कार्यरत रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले बताउनु भयो । कारवाहीमा परेका ४ जना मध्ये १ जना प्रहरी हवल्दार र ३ जना प्रहरी जवानलाई प्रहरी हुन् । आचरण विपरितको कार्य गरेको पाइएकोले प्रहरी नियमावली अनुसार कानुनी कारवाही गरिने प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले जानकारी दिनुभयो ।

आफ्नो डियुटीमा ईमान्दारिता प्रदर्शन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्ने र गैरव्यावसायिक कार्यमा संलग्नलाई कारवाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने कार्यलाई बागमती प्रदेश प्रहरीले विशेष अभियानको रुपमा सञ्चालन गरिरहेको छ ।