फाइल तस्विर

हेटौंडाः मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको निक्षेप आधा अर्ब पुगेको छ । मकवानपुर जिल्लामा सञ्चालनमा रहेका एक सय ४० वटा सहकारी संस्था आवद्ध रहेको संघमा आर्थिक वर्ष २०७६/७७ को अन्तिममा ५१ करोड ४३ लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन भएको हो । अघिल्लो आर्थिक वर्षको तुलना झण्डै २० करोड रुपैयाँले बढी निक्षेप संकलन भएको जिल्ला सहकारी संघकी व्यवस्थापक सुमित्रा वाईबाले जानकारी दिनुभएको छ ।

संघमा आवद्ध प्रारम्भिक सहकारी संस्थाबीच निक्षेप संकलन र ऋण लगानी गर्दै आएको संघमा लकडाउन यता ठूलो रकम जम्मा हुन आएको हो । चैत महिनामा लकडाउन घोषणा भएदेखि असार मसान्तसम्ममा करिब २० करोड रुपैयाँ निक्षेप संकलन भएको हो । लकडाउनका कारण ऋण लगानी हुने अवस्था नहुदा प्रारम्भिक सहकारीमार्फत संघमा निक्षेप बढेको संघकी अध्यक्ष कल्पना श्रेष्ठले बताउनुभयो । अन्य वित्तीय संस्थाको तुलना राम्रो व्याजदर हुनुले पनि संघमा निक्षेप बढेको अध्यक्ष श्रेष्ठको भनँइ छ । संघले निक्षेप र ऋणमा न्यूनतम् अन्तर कायम गरेका कारण प्रारम्भिक सहकारीहरु निक्षेपमा आकर्षित भएको उहाँको दावी छ । पछिल्लो समय संघले प्रारम्भिक सहकारीलाई तरलता २५ प्रतिशतसम्म कायम राख्न निर्देशन दिनुले पनि निक्षेपमा वृद्धि हुन गएको श्रेष्ठको भनाइ छ ।

संघले आर्थिक वर्ष २०७६/७७ मा १०.५ प्रतिशतदेखि ११.७५ प्रतिशत व्याजदरमा प्रारम्भिक सहकारीलाई ऋण लगानी गर्दा उनीहरुले गर्ने बचतमा ४ प्रतिशतदेखि ८.५ प्रतिशतसम्म व्याज पाउने गरेका छन् । संघले दैनिक बचतमा ४ प्रतिशत र आवधिक बचतमा ८.५ प्रतिशत व्याज दिने गरेको व्यवस्थापक सुमित्रा वाईबाले जानकारी दिनुभयो । संघको सेयर पुँजी आर्थिक वर्ष २०७६/७७ मा ३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा १ करोड ५१ लाख २८ हजार रुपैयाँ सेयर पुँजी रहेको थियो । यस्तै संघले सदस्य सहकारीलाई १४ करोड ३१ लाख रुपैयाँ ऋण लगानी गरेको छ । संघमा आवद्ध सहकारी मध्ये आर्थिक वर्ष २०७६/७७ को अन्तिमसम्ममा ४५ वटा सहकारीले ऋण लिएका छन् । संघले मुद्दती खातामा ३२ करोड रुपैयाँ बचत गरेको छ ।

जिल्ला बचत संघले आर्थिक वर्ष २०७६/७७ मा ५३ लाख ६८ हजार रुपैयाँ खुद आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा संघले ५० लाख रुपैयाँ खुद् आम्दानी गरेको थियो । दुईजना सुरक्षाकर्मी सहित ८ जना कर्मचारी रहेको जिल्ला बचत संघले आर्थिक वर्ष २०७६/७७ मा दुई करोड ९६ लाख ६० हजार रुपैयाँ आम्दानी गरेको थियो । आम्दानीको ठूलो हिस्सा प्रारम्भिक सहकारीले राखेको निक्षेपको व्याजमा खर्च हुने गरेको छ । संघले आर्थिक वर्ष २०७६/७७ मा प्रारम्भिक सहकारीले बचत गरेको पुँजीको व्याज वापत मात्रै २ करोड ११ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

संघको सञ्चालन खर्च करिब ३० लाख रुपैयाँ रहेको छ । हेटौंडा–२ मा आफ्नै स्वामित्वको जमिन र कार्यालय भवनमा रहेर संघले जिल्लामा रहेका बचत तथा ऋण सहकारी संघको नियमन, सहजीकरण गर्नुका साथै सहकारीको क्षमता विकास, स्रोत व्यवस्थापन र सहजीकरणको काम गर्दै आएको छ ।

सहकारीमा करिब ७ अर्ब पुँजी
जिल्ला बचत संघमा आवद्ध एक सय ४० वटा सहकारी संस्थाको पुँजी करिब सात अर्ब रुपैयाँ पुगेको छ । २०७७ साल जेठ मसान्तसम्मको विवरण अनुसार जिल्ला बचत तथा ऋण सहकारी संघमा आवद्ध सहकारीमा सेयर सदस्यको संख्या १ लाख २२ हजार ९ सय ८४ पुगेको छ । सेयर पुँजी ९८ करोड ५६ लाख रुपैयाँ पुगेको छ भने बचत संकलन ५ अर्ब ७३ करोड ४७ लाख रुपैयाँ पुगेको छ । संघमा आवद्ध सहकारी मार्फत ६ अर्ब ३६ करोड २५ लाख रुपैयाँ ऋण लगानी भएको छ ।