हेटौँडा ः सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–९ चुरेमा बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्लाको मिथिला नगरपालिका–११ की ६८ वर्षीया पूर्णमाया तामाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
बिहीबार दिउँसो २ बजेर ४५ मिनेटको समयमा बि.पि.राजमार्गमा बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको न ४ ख ४५६२ नम्बरको बसमा सवार तामाङ बसबाट ओलिएर बाटो पार गर्ने क्रममा सोही बसले ठक्कर दिँदा घाइते भएकी थिइन् । घाइते तामाङलाई उपचारका लागि शुभस्वस्तिक अस्पताल बर्दिबास लगिएको थियो । तामाङको उपचारको क्रममा राती ८ बजेर २६ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बस चालक महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–१ बस्ने २४ वर्षीय विष्णु पासवानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।