हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकामा विद्यालय भवनको शिलान्यास गरिएको छ । बुधबार गाउँपालिकाका अध्यक्ष हिदम लामाले पोखरी प्राथमिक विद्यालयको नयाँ भवनको शिलान्यास गर्नुभएको हो ।
गाउँपालिकाको वडा नम्बर–९, घडेरीमा पोखरी प्राथमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको विद्यालयकी प्रधानाध्यापक निर्मला थिङले जानकारी दिनुभएको छ । विद्यालयको लागि २ तल्ले ८ कोठाको भवन निर्माण कार्य सुरु गरिएको प्रधानाध्यापक थिङले बताउनुभयो । हालको विद्यालय भवन गाउँपालिकाको २ नम्बर वडामा रहेको उहाँले बताउनुभएको छ ।
हालको विद्यालय भवनमा हुरी वतासले प्रभाव पर्ने, भूकम्पबाट क्षति हुनसक्ने, चोरी हुने सम्भावना भएकाले विद्यालयका लागि नयाँ भवन निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । नयाँ भवन निर्माणका लागि शिलान्यास भएको स्थान हालको विद्यालयबाट आधा घण्टाको दुरीमा रहेको उहाँले जानकारी दिनुभयो । भवन निर्माणका लागि १६ लाख रुपैयाँको बजेटमा घडेरी सम्याउने कार्य गत जेठ महिनामा सम्पन्न भइसकेको उहाँले बताउनुभयो । विद्यालय भवन निर्माणको काम पुस ५ गतेबाट सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
बागमती प्रदेश सरकारको विशेष अनुदान कार्यक्रम अन्तर्गत भवन निर्माण कार्य अगाडि बढाइएको उहाँले बताउनुभयो । १ करोड ९८ लाख रुपैयाँको बजेटमा भवन निर्माण हुन लागेको हो । निर्माण कार्यका लागि पुलामी एण्ड सन्स कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएर आगामी भदौ महिनासम्म विद्यालय सञ्चालन गर्न मिल्नेगरी सम्झौता गरिएको उहाँले जानकारी दिनुभयो । हालको विद्यालय ऐलानी जग्गामा रहेकोमा विद्यालयको आफ्नै जग्गामा नयाँ भवन निर्माण हुन लागेको उहाँको भनाइ छ । ३ कठ्ठा जग्गामा विद्यार्थीका लागि सुविधायुक्त शौचालय र खानेपानीको व्यवस्थापनसमेत हुने उहाँले बताउनुभयो । कक्षा–५ सम्म पठनपाठन हुने विद्यालयमा ३८ जना विद्यार्थी अध्यनरत छन् ।