विद्यालय शिक्षामा विद्यालय व्यवस्थापन समितिको भूमिकालाई विविध पक्षबाट विश्लेषण गर्ने गरिन्छ । विद्यालय व्यवस्थापन समितिको आवश्यकता रहने र नरहने दुबै पक्षबाट पैरवी हुने गरेको छ । विद्यालयमा अभिभावकको प्रतिनिधित्व, सामाजिक एवम् सहयोगी व्यक्तित्वको उपस्थितिको अवसरको रुपमा विद्यालय व्यवस्थापन समितिलाई जरुरी मानिँदै आएको छ भने विद्यालयमा प्रधानाध्यापकको नेतृत्वमा शिक्षकको समूहको मिहिनेत भए व्यवस्थापन समितिको औचित्य रहन्न भन्ने तर्क पनि प्रस्तुत हुने गरेको छ । विद्यालय व्यवस्थापन समितिको जिम्मेवारी, सक्रियता र योगदानको विषयमा रहेर हेटौँडा–७, नागस्वतीस्थित नवज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमप्रसाद अधिकारीसँग समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः
समाजः विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ । विद्यालयमा व्यवस्थापन समितिको अध्यक्षको भूमिका के रहन्छ ?
अधिकारीः विद्यालयको आर्थिक गतिविधिहरुमा कस्तो सहयोग चाहिएको छ, विद्यालयको व्यवस्थापकीय अवस्था बारे जानकारी राख्ने कार्य गरिन्छ । विद्यार्थी अभिभावक र विद्यालयलाई जोड्ने, प्रशासनिक क्षेत्रमा आवश्यक परेको खण्डमा आफैं उपस्थित भई काम गर्नु व्यवस्थापन समितिको अध्यक्षको भूमिकाको रुपमा रहने गरेको छ ।
समाजः विद्यालय व्यवस्थापन समितिको बैठक बस्ने सन्दर्भमा नियमित बस्ने गर्नुहुन्छ कि आवश्यकता भए अनुसार बस्ने गर्नुहुन्छ ?
अधिकारीः हामी १५ दिनमा नियमित तालिका बने अनुसार विद्यालयको प्रधानाध्यापक समक्ष विद्यालयको अवस्था बुझ्न बैठक बस्ने गर्छाैं । कहिलेकाहीँ आवश्यक भयो भने बीचमा पनि जम्मा हुने गरेका छौं । विद्यालयका शिक्षकलाई १५ दिनमा एक पटक अतिरिक्त परीक्षा लिनु भनेका छौं, त्यस बारे पनि बैठकमा कस्तो नतिजा रहेको छ ? के सुधार गर्न आवश्यक छ ? भनी पनि बैठकमा छलफल गर्ने गरेका छौं ।
समाजः अहिले विद्यालयको सम्पूर्ण अवस्था कस्तो छ । सवल पक्ष चुनौतिहरु के रहेका छन् ?
अधिकारीः पहिले पनि विद्यालय व्यवस्थापन समितिमा रही रहँदा निजी विद्यालय र सामुदायिक विद्यालयलाई तुलना गर्दा अझ पनि विद्यार्थीको न्युन उपस्थिति रहेको छ । पहिला र अहिलेसम्म पनि धेरै परिवर्तन गर्न खोजे पनि थप सुधार आउन भने सकेको छैन । हामी विद्यालयको अहिलेको अवस्था सुधार गर्न स्थानीय सरकारसँग निरन्तर पहल गरिरहेका छौं । विद्यालयको मुख्य चुनौति भन्नु नै न्यून विद्यार्थी संख्या हो ।
समाजः विद्यालयमा कति विद्यार्थी अध्ययनरत छन् ?
अधिकारीः वडाको एउटा मात्रै सामुदायिक विद्यालय हो नवज्योति मावि । हाम्रो विद्यालयमा ३ सय भन्दा कम विद्यार्थी रहेका छन् । हाल न्युरेनीमा रहेको पुरानो शारदा विद्यालयको भवनमा बौद्धिक अपाङ्गता भएका २४ जना विद्यार्थी पनि अध्ययनरत छन् । त्यहाँको अवस्था निकै कमजोर रहेको छ । भवन र आवश्यक शैक्षिक सामग्री पनि पर्याप्त छैन । स्थानीय सरकारले सहयोग त गरेको छ तर हामीले नवज्योति नजिकै भवन बनाउन सबै क्षेत्रमा पहल गरेका छौं तर सहयोग पाउने स्थिति खासै राम्रो देखिएको छैन ।
समाजः विद्यालयले वडासँग गर्नुपर्ने पहल कस्तो छ ? विद्यालयका आवश्यकताका बारेमा वडालाई जानकारी दिएको, विद्यालयले सहयोग मागेको प्रक्रिया कस्तो छ ?
अधिकारीः हाम्रो विद्यार्थी न्युन रहेको र नतिजा पनि खस्किएको अवस्था रहेको छ । यस बारे जनप्रतिनिधिहरुलाई वडादेखि पालिकासम्म जानकारी गराएका छौं । उहाँहरुले पनि चिन्ता त व्यक्त गर्नुभएको छ तर बजेटको सन्दर्भमा वडामा यो वर्ष यसै पनि बजेट कम रहेको छ भन्नु भएको छ । विद्यालयमा भौतिक संरचना बनाउन अत्यन्तै जरुरी रहेको छ । पुस्तकालयको व्यवस्थापन समेत हुन सकेको छैन । र वडाले पालिकामा पहल गर्छाैं भनेको छ । तर केहि सुधार हुने अवस्था देखिएको छैन ।
समाजः समुदायको विद्यालयसँगको अपेक्षा कस्तो छ ? विद्यालयको विषयमा समुदायको बुझाई कस्तो रहेको छ ?
अधिकारीः समुदायको विश्वास जित्नका लागि विद्यालयको नतिजा रामो ल्याउन जरुरी छ । समुदायले पनि भरोसा गर्न सकिरहेको छैन । शिक्षकको कमि–कमजोरी पो हो कि भन्ने धारणा रहेको छ । तर विद्यालयले धेरै मिहिनेत गरे अनुसार समुदायमा राम्रो छवि दिन सकिरहेको छैन ।
समाजः विद्यालयको प्रधानाध्यापकसँग तपाईबीच हुने छलफल, सहकार्य कस्तो रहेको छ ?
अधिकारीः विद्यालयमा प्रधानाध्यापकको रुपमा ज्ञानेन्द्र दाहाल सर हुनुहुन्छ । उहाँले योजना बनाउने क्रममा उहाँको भन्दा व्यवस्थापन समितिको धेरै हात पु¥याउनु पर्ने अवस्था छ । उहाँले हाम्रो योजनालाई अस्विकार गर्नु हुँदैन तर सक्रियता पनि कम रहेको महसुस गरेका छौं । उहाँको सेवाअवधि पनि अब धेरै समय बाँकी छैन र त्यसै कारण शैक्षिक सुधारको क्षेत्रमा उहाँको सक्रियता कम रहेको देखेका छौं । उहाँले योजना बनाउनुपर्नेमा हामी चाहीँ धेरै सक्रिय रहेको अवस्था छ ।
समाजः शिक्षकहरुको पाटोमा चाहीँ कस्तो अवस्था छ ? शिक्षकहरुले पनि कस्तो कार्य गर्न आवश्यक छ ?
अधिकारीः सम्पूर्ण शिक्षकहरुले हामीसँग छलफल गर्दा चिन्ता व्यक्त गर्नुभएको छ । विद्यार्थीले विद्यालयमा जति पढ्यो त्यति र घर गएर गृहकार्य नगर्ने । अभिभावकहरुले पनि चासो नदेखाएको अवस्था छ । विद्यालयका शिक्षकहरुले डायरीमा अभिभावकको हस्ताक्षर समेत गरेर ल्याउन लगाउँदा अभिभावकले हस्ताक्षर नगरेको र मोबाइल मार्फत सम्पर्क गर्दा पनि चासो नदिने जसकारण अभिभावक शिक्षा बढी आवश्यक रहेको गुनासो गरेका छन् । विद्यालयको प्रधानाध्यापक नगर शिक्षा समितिमा रहनु भएको कारण प्रत्यक्ष रुपमा पनि प्रत्येक वडामा अभिभावक शिक्षाको महत्व बुझाउने खालका कार्यक्रम राख्न पहल गरेको छु ।
समाजः अभिभावकको चासो नदेखिएको कारण के देख्नु भएको छ ?
अधिकारीः हाम्रो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको अभिभावक धेरै ज्यालादारी गरेर गुजारा गर्ने, आर्थिकरुपमा न्यून अवस्थाको हुनुहुन्छ । उहाँहरुले बालबालिकालाई धेरै ध्यान दिन समेत सक्नु हुन्न । त्यस कारण पनि अभिभावक–शिक्षक बीचको सहकार्य त्यति हुन सकेको छैन ।
समाजः व्यवस्थापन समितिमा रहनुभएका सदस्यहरुको सक्रियता कस्तो रहेको छ ?
अधिकारीः बजारको विद्यालयहरुका व्यवस्थापन समितिमा रहन तछाड–मछाड हुने देख्छौं भने न्युन विद्यार्थी भएको विद्यालयमा न्युन चासो देखेका छौं । तर हाम्रो विद्यालय व्यवस्थापन समितिका सदस्यहरु सहकार्य गर्नुहुन्छ । योजना बनाउँदा पनि शैक्षिक गुणस्तर सुधार्नु पर्छ भन्ने जस्ता समर्थन गर्नुहुन्छ । तर उहाँहरु आफैं अघि आउने विद्यालयको अनुगमन गर्ने क्षेत्रमा कम खट्नु भएको छ ।
समाजः पछिल्लो समय व्यवस्थापन समितिको सक्रियताले कस्तो सुधार आएको छ ?
अधिकारीः अहिलेको अवस्थामा विद्यार्थीहरु निकै जागरुक हुनुभएको छ । केहि समस्या रहे भने मलाई भन्नुहुन्छ । कोहि शिक्षकले लापरवाहि गरे त्यस्तो विषयमा मलाई खबर गर्नुहुन्छ । यसबाट पनि सुधार हुने अपेक्षा राखेका छौं । हामीले विषयगत शिक्षकलाई आफ्नो विषयमा फेल फ्रि भन्ने योजनामा अघि बढ्न लगाएका छौं । प्रत्येक शिक्षकले आफ्नो विषयमा शत्प्रतिशत उत्तीर्ण गराउने प्रयासमा अघि बढ्न हौसला दिएका छौं । यसले पनि आगामी दिनमा नतिजामा सुधार आउने अपेक्षा राखेका छौं ।