कोरोना भाइरसले विश्व नै तहस नहस भईरहेको समयमा फेरी अर्को संकट आई लागेको छ । काम गरेर समेत खान नपाईरहेको अवस्थामा लगाएको बालीनाली समेत उठाउन नपाईने आशंका देखिएको छ । कृषिबाली सखाप पर्ने किरा सलहले मानव जीवनलाई थप संकटमा पार्ने अवस्थाको आँकलन हुँदैछ । कोरोनाले व्यक्तिगत स्वास्थ्य माथि हमला गर्दछ भने सहलले सम्पूर्ण मानवको जीवन श्रोत माथि नै हमला गर्ने छ । कोरोना विश्वव्यापी छ भने सलहको प्रकोप केही देशमा मात्र देखिएको छ । तर हावाको प्रवाहसँग हिँड्ने भएकाले यो किरा प्रवेश गर्ने क्षेत्र र दिशा पहिल्याउन कठिन छ । कोरोनाले मारमा परिरहेको नेपाली अर्थतन्त्रमा सलहको महासंकट निम्तने खतरा बढ्दै गएको छ ।

कृषिप्रधान देश नेपालले हरेक वर्ष अर्बौ रुपैयाँको खाद्यान्न आयात गर्दै आएको यथार्थ हो । सहज वातावरणमा उत्पादन गर्दा त खाद्यान्न पुगेको छैन भने सलहले अन्नवालीमा क्षति पुर्‍याएमा नोक्सानीको आँकलन नै हुन सक्दैन । करोडौंको संख्यामा हिँड्ने यो किराले एकैपटक बिघौंको कृषि उत्पादनमा नोक्सान पुर्‍याउने छ । सलहको प्रकृति र नोक्सानी गर्ने तरिका थाहा पाएपछि त्यसको रोकथाम र बचावटका विषयमा आवश्यक तयारी हुनु पर्दछ । केही हप्ता अघि मात्र पनि नेपालमा सलह प्रवेश नगर्ने सम्बन्धित अधिकारीहरुको विश्लेषण थियो । तर दुई हप्तामै किरा नेपालका विभिन्न जिल्लाहरुमा पुगिसकेको छ । कोरोनाका कारण संकटमा परेको नेपाली समाजको आर्थिक अवस्था सलहका कारण महासंकटमा पर्ने निश्चित छ ।

नेपाली हावापानीमा सलह प्रवेश नगर्ने विश्वास गरेर बसेका कृषि अधिकारीहरु जिल्लाहरुमा सलहको प्रवेशले अत्तालिएका छन् । समय छँदा बिना तयारीे बस्ने र आईपरेपछि हस्याङ्ग फस्याङ्ग गर्ने चलन नै बनेको छ । कोभिडले पनि तयारीको समय हामीलाई दिएको हो । तर नेपालीहरुको पाचन शक्तिमाथि अप्रमाणित तर्क गर्दै बसेपछिको परिणाम अहिले भोगिँदै छ । यही अवस्था सलहमा पनि नदेखिएला भन्न सकिँदैन । अझै पनि यसको नियन्त्रणका लागि तयारी गर्न समय छ । तर सानो झुण्डमा मात्र आएकाले नआत्तिन किसानलाई आग्रह गरेर बस्ने हो भने भोली फेरी अर्को पटक पछुताउनु पर्ने हुन्छ ।

अफ्रिका महादेशको सुडानको स्थानीय किरा अहिले पाकिस्तान हुँदै भारतबाट नेपाल प्रवेश गरेको छ । ठूलो संख्यामा एकै पटक प्रवेश गर्ने भएकाले तत्काल रोक्न सकिँदैन । त्यसैले पूर्वतयारी गर्नुको विकल्प छैन । तर नेपालमा यो किराको प्रवेश भएपछि मात्र पाकिस्तानी विज्ञहरुसँग परामर्श गरिएको छ । यसबाट कृषि उत्पादन जोगाउन विषादी छर्कने, नष्ट गर्ने वा बालीलाई अन्य प्रकारले संरक्षण गर्ने जस्ता उपायको खोजी हुन पर्दछ । यसमा किसानहरुले पनि आफ्ना परम्परागत विधिहरुको प्रयोग गर्न सक्ने छन् । यस्तै आवाजदेखि संगीतका कुरा पनि आएका छन् । यस सम्बन्धमा पनि तयारी हुनुपर्ने थियो । अन्य देशले प्रयोग गरेका विधि र पद्दति नेपालमा पनि अपनाउनु पर्दछ । यस्तै स्थानीय परम्परागत विधिहरुको प्रयोगलाई पनि बढावा दिनु अहिले आवश्यक हुन्छ । तत्काल सलहबाट बचाउने उपायहरु प्रयोग नगर्ने हो भने रोग र भोग दुवैबाट मानिसको ज्यान जोखिममा पर्ने छ ।