हेटौँडाः मकवानपुर जिल्ला क्रिकेट संघको आयोजनामा भएको महिला क्रिकेट उत्सवको उपाधि हेटौंडा एकेडेमीले जितेको छ । बुधबार हेटौंडा–४, हुप्रचौरमा सम्पन्न भएको फाइनल खेलमा माउण्ट एभरेष्ट बोर्डिङको महिला टिमलाई हराउँदै हेटौँडा एकेडेमीले उपाधि जितेको हो ।
टस हारेर पहिले व्याटिङको निम्तो पाएको हेटौंडा एकेडेमीले निर्धारित ६ ओभरमा बिना विकेटको क्षतिमा ३५ रन बनाएको थियो । हेटौंडा एकेडेमीकी चन्दा सहनीले १८ रन बनाइन् । यता यद्रिक्षा न्यौपानेले ११ रन बनाइन् । ३६ रनको लक्ष्य पछ्याएर जवाफी व्याटिङ गरेको माउण्ट एभरेष्टले ६ ओभरमा ३३ रन मात्र बनाउन सफल भएको थियो । माउण्ट एभरेष्टका लागि जोशना चौधरीले १२ रन र सरिका केसीले ११ रन मात्र बनाउन सफल भएको थियो । प्रतियोगिताका संयोजक प्रेम क्षेत्रीको सभाध्यक्षमा तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा पुरस्कार वितरण समारोह भएको थियो ।
प्रतियोगिताको उपाधि विजेता र उपविजेता महिला टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । महिलाहरुमा क्रिकेट खेलको प्रवद्र्धन गर्ने उद्देश्यले आइसीसी कार्यक्रम अन्तर्गत नेपालभरीको १० जिल्लामा प्रतियोगिताको आयोजना गरेको खेल संयोजक प्रेम क्षेत्रीले बताउनुभयो । हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा मंगलबार सुरु गरेको प्रतियोगिता बुधबार सम्पन्न भएको हो । प्रतियोगितामा ७ वटा विद्यालयका ८ वटा टिमको सहभागिता रहेको थियो ।