हेटौँडा ः बागमती प्रदेश सरकारले ११ जिल्लाका प्रादेशिक अस्पतालको अध्यक्ष नियुक्त गरेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले गत मंसिर २७, पुस ७ र ९ गतेको मन्त्रीस्तर निर्णय गर्दै ११ जिल्लाको प्रादेशिक अस्पतालको अध्यक्ष नियुक्त गरेको हो ।

मन्त्रालयका सूचना अधिकारी डा. रविन भुषालका अनुसार हेटौँडा अस्पताल र सिन्धुली अस्पतालको अध्यक्ष बाहेक सबै जिल्लास्थित प्रादेशिक अस्पतालको अध्यक्ष नियुक्त गरेको हो । हेटौंडा अस्पतालको अस्पतल संचालन तथा व्यवस्थापनको अध्यक्ष मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार हुने कानुनी व्यवस्था रहेकाले निर्णय नभएको उहाँले बताउनुभयो । सिन्धुली अस्पतालमा विशेष कारणले अध्यक्ष नियुक्त नगरिएको उहाँको भनाई छ ।

मन्त्रालयले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ (पहिलो संशोधन) को दफा २६ (ख) उपदफा २ को काम, कर्तव्य र अधिकार बमोजिमको कार्यसम्पादन गर्नेगरी अध्यक्ष नियुक्त गरेको हो । ऐनको दफा २६ (क) को उपदफा (९) बमोजिमको पदावधि कायम हुने गरी दफा २६ (क) उपदफा (२) बमोजिम अस्पताल संचालन तथा व्यवस्थापन समितिको अध्यक्ष नियुक्त गरिएको हो ।

मन्त्रीस्तरीय निर्णय अनुसार भक्तपुर अस्पतालको अध्यक्षमा सूर्यविनायक–१ का शशीजंग थापालाई नियुक्त गरिएको छ । उहाँ पूर्व बागमती प्रदेशसभा सदस्य समेत हुनुहुन्छ । मन्त्रीस्तरीय निर्णय अनुसार पशुपति चौलागाई स्मृति अस्पताल दोलखाको अध्यक्षमा भिमेश्वर–१ का सुवास रिमाल, त्रिशुली अस्पतालको अध्यक्षमा विदुर–१० का उपेन्द्र बुढाथोकी, बकुलहर रत्ननगर अस्पतालको अध्यक्षमा रत्ननगर–२ का गोपाल कर्माचार्य, चौतारा अस्पतालको अध्यक्षमा चौतारा साँगाचोकगढी–११ का केशवराज गिरीलाई नियुक्त गरिएको छ ।

त्यस्तै रसुवा अस्पतालको अध्यक्षमा गोसाइकुण्ड–६ का विवश श्रेष्ठ, मेथिनकोट अस्पताल काभ्रेको अध्यक्षमा नमोबुद्ध–७ का विष्णुप्रसाद खनाल, बज्रबाराही चापागाउँ अस्पताल ललितपुरको अध्यक्षमा गोदावरी–११ का रामहरी घिमिरे, टोखा चण्डेश्वरी अस्पताल काठमाडौंको अध्यक्षमा काठमाडौं–१८ का प्रकाश खड्गी, रामेछाप अस्पतालको अध्यक्षमा रामेछाप–६ का यम कुमार पाख्रिन र धादिङ अस्पतालको अध्यक्षमा गल्छी–५ की राधिका सापकोटालाई नियुक्त गरेको छ । मन्त्रीस्तरीय निर्णय अनुसार नुवाकोटको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको अध्यक्षमा शिवकुमार चित्रकारलाई नियुक्त गरेको छ ।