संसारका हरेक कुनामा कथा छन् । र, छन् कथाकार पनि । कति कथा भनिन्छन्, कति कथा कहिल्यै कसैको अभिलेखमा भेटिँदैनन् । कथा सङ्ग्रह “बुढीपोल्ली” मा लेखक खेम बतासले आफ्नो माटोको कथा भनेका छन् । राज्यको सौतेनी व्यवहारको चपेटामा परेको भुगोलले कसरी पोख्छ आफ्नो वेदना ? माटो कसरी रुन्छ ? बुढीपोल्लीमा खेमले हेपिएको माटोको रोदन लेखेका छन् । र, लेखेका छन् उसको बिद्रोह पनि ।
बुढीपोल्लीमा एउटा देउडा गीत छ । “आँखामी कर्णाली बग्दी मुटुभित्र रारा । न लाग्दी पुनिउकी जुन न धेग्गीना तारा” आफ्नो माटोको माया नभएको होइन । आकाश भन्दा फराकिलो छ, जन्मभूमिको माया । तर मायाले मात्रै चल्दैन परानी । पाल्नै पर्छ, पापी पेट । राज्यले चिन्दैन उसलाई । र, तर्नै पर्छ, महाकाली उसले, धन कमाउनका लागि । “बुढीपोल्ली” परानी पाल्न महाकाली तर्नेहरुको कथा हो । मान्छेले मान्छे भएर बाँच्न गरेको सङ्घर्षको कथा हो ।
यो हारको कथा होईन, यो साहसको कथा हो । जातीय विभेदको सिकार भएका पीडितहरुको तातो मानसिकताको चित्कार हो, बुढीपोल्ली । कुनैपनि भेगको प्राकृतिक सौन्दर्यलाई त्यस भेगको कुरीतिले छाँयामै पार्ने चेस्टा गर्दो रहेछ । तर, पत्थर फोरेर पिपल उर्मिए झैँ उम्रिदा रहेछ आशाका ससाना बीजहरु । बुढीपोल्लीमा कर्णाली पारीका कुरीति मात्र छैनन् । छन्, प्राकृतिक सौन्दर्यका रङ्गमधुरस पनि ।
डोट्याली भाषा यो पुस्तकको मेरुदण्ड हो । हुन त यो पुस्तक पूर्णरुपमा डोटेली भाषामा लेखिएको पुस्तक होईन । तर पात्रहरुको आञ्चलिक लवजले यसलाई बलियो बनाएको छ । व्यापारिक सफलताका लागि उक्त भेगको मौलिक लवजलाई चटक्कै छोडेर सबैले बुझ्ने भाषा प्रयोग गरिएको भए यो आँशुको खेती हुनसक्थ्यो । तर यहाँनिर लेखक खेम बतासले ईमान्दारिता देखाएका छन्, आफ्नो भेगिए लवज प्रयोग गरेर । मलाई सबैभन्दा मन परेको कुरा यही हो ।
मलाई लाग्छ लैङ्गिक कुरीति, जातीय विभेद, अन्धविश्वास र सामाजिक अपमानको मारमा परेका मान्छेहरुको जीवनशैलीलाई सिर्जनात्मक तवरले प्रस्तुत गरिएको यो पुस्तक पश्चिम नेपालको प्रतिनिधी पुस्तक हो । प्रखर कविका रुपमा परिचित खेमले नेपाली आख्यानमा बलियो उपस्थिति जनाएका छन्, बुढीपोल्ली मार्फत ।
हरेक पाठकका आआफ्ना दृष्टिकोण हुन्छन्, उसले पढेका प्रत्येक पुस्तकमा । यो समीक्षा मेरो नजरीया हो । तपाई पनि बुढीपोल्ली पढ्नुस् । तपाईको दृष्टिकोण फरक हुनेछ । र मलाई पूर्ण विश्वास छ, त्यो सुन्दर हुनेछ । बुढीपोल्लीले त्यो सामथ्र्य राख्दछ ।