सम्मानीय प्रधानमन्त्री ज्यू,
प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय,
सिंहदरबार, काठमाडौं मितिः २०८१/०१/१४
महोदय,
सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने शिक्षाको मूल नारा अनुरुप सबै वर्ग, जात, धर्मका विद्यार्थीले विद्यालयमा गुणस्तरीय शिक्षा पाउनु पर्छ । अझै पनि नेपालका सामुदायिक विद्यालयहरुमा परम्परागत प्रविधिको प्रयोग हुन्छ । त्यसको सट्टामा आधुनिक प्रविधिको प्रयोग गर्नुपर्छ । विद्यालयमा किताबको विषयवस्तुको साथसाथै व्यवहारिक कुरा पनि सिकाउनु पर्छ । नेपालका अधिकांश सामुदायिक विद्यालयहरुमा गणितको प्रयोगशाला छैन । सबै विद्यालयमा गणितको प्रयोगशाला बनाउनुपर्छ । किनभने कुनै पनि देशले गणित र विज्ञान बिना प्रगति गर्न सक्दैन भन्ने मलाई लाग्छ । हरेक साताको शुक्रबारलाई किताबरहित बनाउनुपर्छ र त्यस दिनमा विद्यालयले अतिरिक्त क्रियाकलाप जस्तैः नाचगान, खेलकुद, वक्तृत्वकला, वादविवाद प्रतियोगिता गराउनुपर्छ । विद्यार्थीको सोच्न सक्ने क्षमता वृद्धि गराउन अति आवश्यक छ । विद्यार्थीहरु नै भविष्यको कर्णधारहरु हुन् । उनीहरुको भविष्य राम्रो बनाउन राज्यले विभिन्न कार्यहरु गराउनुपर्छ । नेपालको संविधानमा उल्लेखित कक्षा–१० सम्म निशुल्क शिक्षा भन्ने कुराहरु कतिपय विद्यालयमा लागु भएका छैनन् । विद्यालयले कुनै न कुनै बहानामा विद्यार्थीसँग शुल्क लिइरहेको हुन्छ । यो विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।
अब सामुदायिक विद्यालयमा शैक्षिक भ्रमण लगेर विद्यार्थीको मस्तिष्कमा उसले प्राप्त गरेको ज्ञान सधैँ रहिरहने गरी पढाउनु पर्छ । निरन्तर विद्यार्थी मूल्यांकन गर्नुपर्छ । नेपाल बहुजातीय, बहुसाँस्कृतिक मुलुक हो । नेपालको ग्रामिण भेगमा अझै पनि मानिसहरु छुवाछुत, भेदभाव गर्छन् । विद्यार्थीले कुनै पनि भेदभाव सहन नपरोस् भनेर केही नीतिहरु बनाइदिनु पर्छ । आजको युग विज्ञान र प्रविधिको युग हो त्यसैले विज्ञान र प्रविधिका प्रयोगशालामा चाहिने सामानको व्यवस्था गरिदिनुपर्छ । हरेक कक्षाकोठामा स्मार्ट बोर्डको व्यवस्था गर्नुपर्छ । विद्यार्थीलाई स्वतन्त्ररुपमा सोच्न र आफ्नो प्रश्नको उत्तर आफैँ खोज्ने बानीको विकास गराउन अभिप्रेरित गर्नुपर्छ । हरेक साता उपलब्धी परीक्षा सञ्चालन गर्नुपर्छ । सोही परीक्षाको नतिजा अनुसार नै आगामी दिनमा कसरी अझै राम्रो पढाउने भनेर छलफल गर्नुपर्छ । नेपालमा भएको सबै सामुदायिक विद्यालयमा गणित, विज्ञान र प्रविधिको प्रयोगशाला अनिवार्य रुपमा चाहिन्छ भन्ने यो निवेदन सम्मानीय प्रधानमन्त्री ज्यू समक्ष पेश गरेकी हुँ ।