बागमती प्रदेश सरकारले सार्वजनिक विश्वविद्यालयसम्बन्धी विधान स्वीकृत गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले हेटौंडामा सार्वजनिक विश्वविद्यालय स्थापनाका लागि विधान स्वीकृत गरेको हो । बैठकले प्रदेश उच्च शिक्षा ऐन २०७८ बमोजिम विश्वविद्यालय स्थापना तथा सञ्चालनको विधान स्वीकृत गर्दै प्रदेश सार्वजनिक विश्वविद्यालय स्थापनाका लागि सामाजिक विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृतिसमेत दिएको छ । मन्त्रिपरिषद्को स्वीकृतिपछि प्रदेश विश्वविद्यालयका लागि आवश्यक भौतिक संरचना, जग्गा, मापदण्डलगायतका विषयमा अध्ययन तथा अनुगमन र कार्यप्रगति मूल्यांकनका लागि मन्त्रिपरिषद्ले निर्देशनसमेत दिएको छ । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार विश्वविद्यालय स्थापनाका लागि आवश्यक पूर्वाधार र मापदण्ड मूल्यांकन गरी थप संरचना निर्माण गरेर अघि बढ्न मन्त्रालयलाई निर्देशन दिएको हो ।
करिब २ महिनाअघि प्रदेश सरकारले हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको सार्वजनिक विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । मोफसलकै धेरै विद्यार्थीहरू अध्ययन गर्नेमध्यको एक क्याम्पसको रुपमा रहेको मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउने निर्णय गरेको हो । बागमती प्रदेशमा प्रदेश सरकार मातहतको विश्वविद्यालय आवश्यक रहेको भन्दै प्रदेश विश्वविद्यालय स्थापनामा प्रदेश सरकार क्रियाशील बनेको छ । प्रदेशको राजधानीसमेत रहेको हेटौंडाको सामुदायिक क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउने निर्णयले हेटौंडाबासीलाई उत्साहित बनाएको छ । सरोकारवाला र मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समितिसँगको विभिन्न चरणमा गरिएको छलफलपश्चात् विश्वविद्यालय बनाउने निर्णय लिइएको हो । प्रदेश राजधानी हेटौंडामा शिक्षा र स्वास्थ्यको अवस्था कमजोर रहेका कारण प्रदेश सरकारका योजनाबाट हेटौंडाको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । बागमती प्रदेश सरकारले यसअघि हेटौंडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरी स्वास्थ्यसम्बन्धी विभिन्न विषयको पठनपाठन सुरु गरिसकेको छ । हेटौंडा अस्पताललाई प्रतिष्ठान मातहतमा ल्याएर स्वास्थ्य सेवाको विकास र विस्तारमा सहयोग गर्दै आएको छ ।
प्रदेश राजधानीमा प्रादेशिक विश्वविद्यालय स्थापना गर्ने निर्णय हुनु र त्यसको तयारीका लागि सरकारले निर्देशन दिनुलाई सकारात्मक मान्नुपर्छ । हेटौंडामा ४ दशकभन्दा बढी समयदेखि सामुदायिक क्याम्पसको रुपमा सञ्चालन भइरहेको मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउने निर्णय भएपछि क्याम्पस सञ्चालक समिति र प्राध्यापकहरुले आवश्यक तयारी गर्दै आएका छन् । बुधबार मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयलाई विश्वविद्यालयका लागि आवश्यक पूर्वाधार र मापदण्ड बनाउन निर्देशन दिएपछि विश्वविद्यालय स्थापनाको तयारीले थप तिब्रता पाउने आशा गर्न सकिन्छ । मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालयको रुपमा विकास गर्न अहिलेको भौतिक संरचना र जग्गाले पुग्दैन । प्रदेश सरकारले हेटौंडा उपमहानगरपालिका वा संघीय सरकारसँग आवश्यक समन्वय गरेर उपयुक्त स्थानमा आवश्यक जग्गा व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।
देश संघीयतामा गएपछि प्रदेश सरकारले आफ्नै विश्वविद्यालय स्थापना गर्न खोज्नु स्वभाविक प्रक्रिया हो । तर, पछिल्लो समय देशमा स्थापना भएका पुराना तथा नयाँ विश्वविद्यालयमा विद्यार्थी अभाव भइरहेको अवस्थामा हेटौंडामा खोलिने विश्वविद्यालयको हालत के होला ? त्यसतर्फ पनि ध्यान दिनु आवश्यक छ । नयाँ विश्वविद्यालय स्थापना गर्नुअघि त्यसको औचित्य र आवश्यकता अनि प्रभावकारिता र स्थायित्वको बारेमा व्यापक बहस र अनुसन्धान आवश्यक छ । देशमा रहेका अन्य विश्वविद्यालयहरुको भन्दा फरक विषयका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै देशलाई चाहिएको उपयुक्त जनशक्ति तयार गर्नेगरी विश्वविद्यालय खोल्नुपर्छ । नयाँ खुल्ने सार्वजनिक विश्वविद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरी स्वदेशका विद्यार्थीलाई विदेश जान रोक्ने र विदेशी विद्यार्थीलाई समेत आकर्षण गर्ने क्षमता राख्न सक्नुपर्छ । अन्यथा विश्वविद्यालय स्थापना र सञ्चालनका लागि प्रदेश सरकारले खर्चने ठूलो धनराशि बालुवामा पानी हालेसरह हुनेमात्र होइन, सरकारलाई दीर्घकालीन आर्थिक दायित्वसमेत सृजना हुनेछ ।