राक्सिराङ गाउँपालिकाले कृषकलाई तरकारी खेतीका लागि आवश्यक सामग्री वितरण गर्दै ।

हेटौंडाः राक्सिराङ गाउँपालिकाले कृषकलाई तरकारी खेतीका लागि आवश्यक सामग्री वितरण गरेको छ । बुधबार गाउँपालिका परिसरमा एक कार्यक्रमका बीच मिलिजुली कृषक समूहलाई तरकारी खेतीका लागि आवश्यक विभिन्न सामग्री वितरण गरेको हो ।

५ नम्बर वडाको तरकारी खेती प्रबद्र्धन कार्यक्रमअन्तर्गत् मिलिजुली कृषक समूहलाई टनेल प्लास्टिक ११ थान, थोपा सिंचाई १० सेट, ग्रीन नेट १० थान, मल्चिङ्ग प्लाष्टिक ५ थान, स्प्रे पम्प १० थान वितरण गरिएको छ । कृषि सामग्री वितरण गर्नुहुँदै गाउँपालिका अध्यक्ष राजकुमार मल्लले तरकारी उत्पादनबाट जीवन निर्वाहका लागि सहज वातावरण बन्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो सामग्रीको प्रयोग गरी आर्गानिक तरकारी उत्पादन गर्दै जानुहोस्, बिक्री वितरणको लागि टाढा जानु पर्दैन । हाम्रै कृषि हाटबजार छ, त्यहाँ खपत हुन्छ । उत्पादनलाई बढाउँदै गर्नु, थप आवश्यक कृषि सामग्री र प्राविधिकको व्यवस्था हामी गर्छौं ।’

तरकारी उत्पादन अबधिभर निरन्तर प्राविधिक सेवा प्रदान गरिने पालिकाको कृषि शाखाले जनाएको छ । शाखाका अनुसार उक्त कार्यक्रममार्फत् ३ वटा कृषि समूहका ३० भन्दा बढी कृषकहरु लाभान्वित हुने जानकारी गराउँदै थप २ वटा कृषि समूहलाई चाँडै सामग्री वितरण गरिनेछ । कृषि सामग्री वितरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौला, ५ नम्बर वडा अध्यक्ष हरिबहादुर प्रजा, कृषि शाखाका संगम विश्वकर्मा, कृष्ण डुम्रेलगायतको सहभागिता रहेको थियो ।