विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम बानियाँ (दायाँ) लाई छात्रवृत्ति रकमको चेक हस्तान्तरण गरिँदै ।

हेटौँडाः ११९ औँ अन्तर्राष्ट्रिय रोटरी दिवसको अवसरमा रोटरी क्लब अफ हेटौँडाले ९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । मंगलबार रोटरी क्लब अफ हेटौँडाले मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा रहेको राष्ट्रिय रोटरी माविमा कक्षा ११ र १२ मा अध्ययनरत ९ जना विद्यार्थीलाई छात्रवृत्तिवापत एक वर्षको शुल्क भुक्तानी गरेको हो ।

९ जना विद्यार्थीको अध्ययन शुल्कबापत एक लाख १७ हजार भुक्तानी गरिएको रोटरी क्लब अफ हेटौँडाका सचिव किशोर पराजुलीले जानकारी दिनुभयो । अध्ययन शुल्क भुक्तान कार्यक्रममा रोटरी क्लब अफ हेटौँडाका अध्यक्ष स्वागत राज प्याकुरेल, निवर्तमान अध्यक्ष सुयश राज पराजुली, पूर्वअध्यक्षहरु रामप्रसाद शर्मा, उज्वल शर्मा भण्डारी, प्रकाश ढकाल, विद्यालयका प्रधानाध्यापक गोविन्द पौडेल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष शालिकराम बानियाँको उपस्थिति रहेको थियो ।

रोटरी क्लब अफ हेटौंडाले दिवसको अवसरमा ६ गतेबाट सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ । क्लबले पहिलो दिन रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको दोस्रो दिन सोमबार रोटरियन र रोट्रयाक्टबीच टेबल टेनिस प्रतियोगिता भएको थियो । यस्तै, कार्यक्रमको तेस्रो दिन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

बुधबार हुप्रचौर र भुवनेश्वर मन्दिरमा डस्टविन राख्ने र बिहीबार हेटौंडा स्कुल अफ म्यानेजमेन्ट अफ सोसियल साइन्समा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. सुरेन्द्र शेरचनले मानसिक स्वास्थ्य अभिमुखीकरण कार्यक्रम गर्नुहुने पराजुलीले जानकारी दिनुभयो । साताव्यापी कार्यक्रमको अन्तिम दिन शनिबार मनहरीमा मुटुरोग शिविर सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।