गाउँसभालाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल ।

चैनपुर (राक्सिराङ)ः बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले माघ महिनाभित्र चेपाङ संरक्षित क्षेत्र घोषणा गर्ने बताउनुभएको छ । सोमबार राक्सिराङ गाउँपालिकाको १५ औँ अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

मुख्यमन्त्री जमकट्टेलले प्रदेश सरकारले चेपाङ सरक्षित क्षेत्र घोषणा गर्न अध्ययन टोली बनाएर कार्य गर्न सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘चेपाङ हाम्रो पहिचान हो, सभ्यता हो, हाम्रो संस्कृति हो । चेपाङहरुले माग गरेको संरक्षित क्षेत्रको कार्य सुरुवात भएको छ । यसको लागि अध्ययन टोली बनाएर काम सुरु गरिसकेका छौ ।’ मकवानुरको राक्सिराङ, चितवनको राप्ती नगरपालिका, कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका, धादिङको बेनिघाट रोराङ र गजुरी गाउँपालिका गरी ६ पालिकामा चेपाङ समुदाय बसोबास गर्ने बताउनुहुँदै उहाँले यस क्षेत्रमा चेपाङ सरक्षित क्षेत्र घोषणा गर्ने बताउनुभयो ।

उहाँले चेपाङ, चिउरी र चमेरो संरक्षणका लागि पाँच वर्षे कार्यक्रम बनाएर अगाडि बढाएको र कार्यविधि पास गर्ने बताउनुभयो । मुख्यमन्त्री जमकट्टेलले विगतको अनुभवबाट सिकेर धेरै नीति तथा कार्यक्रममा चेपाङ समुदायसँग सम्बन्धित कार्यक्रमहरु नयाँ मोडेलमा ल्याएको बताउनुभयो । उहाँले अब चेपाङ समुदाय चिन्तित हुनुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मुख्यमन्त्री जमकट्टेलले मनहरीबाट चैनपुर, बैकुण्ठ हुँदै आदामघाट निस्कने ५७ किलोमिटर छोटो बाटो चाँडो निर्माण हुने बताउनुभयो । संघीय र प्रदेश सरकारको सहलगानीमा सम्पन्न हुनेगरी समपूरक आयोजनामा निर्माण सुरु भएको उक्त बाटो निर्माण कार्य सोचेअनुसार नभएको र निर्माण कम्पनीलाई चाँडो सकाउन भनेको उहाँले बताउनुभयो । अहिले प्रदेश सरकारले समयमा काम सम्पन्न गर्न नसक्ने निर्माण व्यवसायीहरुसँगको सम्झौता रद्द गरी कालो सूचीमा राख्ने काम अगाडि बढाएको उहाँले बताउनुभयो । यो बाटो निर्माणपछि राक्सिराङको विकासमा सहयोग पुग्ने उहाँको भनाइ छ ।

उहाँले मुलुकको अहिलेको व्यवस्थाले विस्तारै काम गर्न सुरु गर्न थालेकाले यस व्यवस्थामाथि अहिले नै व्याख्या गर्न आवश्यक नरहेको बताउनुभयो । यो व्यवस्थाले नै अहिले विकासका कार्यहरु हुन थालेको उहाँको भनाइ छ । नेता कार्यकर्ताहरुले जनतासँग निराशाका कुरा गर्न नहुने उहाँले बताउनुभयो ।

अधिवेशनमा प्रतिनिधिसभा सदस्य महेशकुमार बर्तौलाले गाँंजा खेतीलाई वैधानिक बनाउनुपर्छ भन्ने आवाजलाई सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । छिमेकी मुलक भारत र चीनमा पनि गाँजा खेती वैधानिक नभएको अवस्थामा नेपालमा गाँजा उत्पादन गरेर बजारको ग्यारेन्टी कसले गर्ने भनेर सरकारले अध्ययन गर्नुपर्ने उहाँले बताउनुभयो । अहिलेको सरकारले मान्छे मार्नेलाई विभिन्न उपलक्ष्यमा आममाफी दिने तर आफ्नो छाक टार्न गाँजा बोक्ने भरियालाई भने कारागारमा थुनिराखेको उहाँले बताउनुभयो । सरकारले लागूऔषध कारोबार गर्नेलाई भने पक्राउ गर्न नसकेको र भरियालाई समातेर वर्षौसम्म जेल राख्ने गरेको उहाँले बताउनुभयो ।

उहाँले पालिकाले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा नराखेसम्म अरु कार्यक्रम नारामै सीमित हुने बताउनुभएको छ । पालिकाभित्रका सबै विद्यालयमा दिनहुँ विद्यार्थी खाली हुँदै गएको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । अहिले माध्यमिक तहसम्मको जिम्मेवारी स्थानीय सरकारलाई दिएकाले स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले गाँजा खेतीलाई वैधानिक बनाउनुपर्ने बताउनुभएको छ । गाँजा जडीबुटीजन्य वनस्पति भए पनि यसलाई लागूऔषध बनाएको उहाँले बताउनुभयो । गाँजा खेतीलाई कि वैधानिकता र नभए यसको विकल्प दिनुपर्ने उहाँले बताउनुभयो ।

पालिकाका उपाध्यक्ष वनस्तम थिङले अहिले पालिकाका धेरै युवाहरु गाँजाको मुद्दामा कारागारमा नभए खाडी मुलुकमा रहेको बताउनुभयो । यस्तो हुँदा गाउँमा काम गर्न गाह्रो भइरहेको उहाँले बताउनुभयो । केही गराँै भन्नेउर्जाशील युवाहरु जेल जीवन बिताइरहँदा जनतालाई गरेको बाचाहरु पूरा गर्न नसकिरहेको उहाँले बताउनुभयो । पालिकाले अधिवेशनको अवसरमा कर्मचारी, शिक्षक, विद्यार्थी, उपभोक्ता समिति, सञ्चारकर्मी, खेलाडी, कलाकार र उद्यमीहरुलाई सम्मान गरेको छ ।

६ वटा प्रस्ताव पारित
पालिकाको अधिवेशनमा ६ वटा कार्यसूची पेश भएकोमा सबै पारित भएको छ । गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङले चालु आर्थिक वर्ष २०८०/०८१ को अर्धवार्षिक समीक्षा गाउँसभामा पेश गर्नुभएकोमा पारित भएको छ । पालिकाका अध्यक्ष राजकुमार मल्लले न्यायिक समितिको वार्षिक प्रतिवेदन तथा मेलमिलापकर्ताहरुको नाम अनुमोदनका लागि प्रस्ताव पेश गर्नुभएकोमा पारित भएको छ । यस्तै, उपाध्यक्ष थिङले चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रममाथिको संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएकोमा पारित भएको छ ।

कार्यपालिका सदस्य बावीराम मुक्तानले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन अन्तिम नतिजा छलफलको लागि सभामा पेश गर्नुभएकोमा पारित भएको छ । अर्का कार्यपालिका सदस्य उत्तम वाईबाले आर्थिक वर्ष २०७८/०७९ सम्मको बेरुजु नियमित गर्नेसम्बन्धी प्रस्ताव पेश गर्नुभएकोमा पारित भएको छ । कार्यपालिका सदस्य युसाई प्रजाले प्रजा विकास कार्यक्रमको जग्गा लाभग्राहीले प्राप्त गर्न आवश्यक पहल गर्नेसम्बन्धी प्रस्ताव पेश गर्नुभएकोमा पारित भएको छ ।

पालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा भएको अधिवेशनमा संविधानसभा सदस्य गोविन्दराम चेपाङ, बागमती प्रदेशसभाका पूर्वसदस्यहरु सन्त चेपाङ र ओम घलानलगायतको आतिथ्य रहेको थियो ।