यतिबेला पर्वको लामो विदाका कारण हेटौँडा उपमहानगर क्षेत्रका अधिकांश विद्यार्थी घरमै छन् । शिक्षकहरु देश–विदेश भ्रमणमा छन् । केही विद्यार्थी पनि आफ्ना अभिभावकसँग भ्रणमा छन् । पर्वको लामो विदाको समयमा विद्यार्थीको दैनिकीलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा अभिभावकलाई चासो र चिन्ता छ । यसै सन्दर्भमा हेटौँडा–११, नवलपुरस्थित त्रिभुवन माविमा शिक्षक सुवास खनालसँग समृद्ध समाज दैनिकका लागि सुप्रभा शर्माले गर्नुभएको कुराकानीको सम्पादित अंशः
समाजः अहिले विद्यालय बन्द छ । विद्यालय बन्द रहँदा विद्यालयका विद्यार्थीहरु के गरिरहेका छन् ?
खनालः हेटौंडा उपमहानगरपालिकाको शैक्षिक क्यालेण्डर अनुसार अहिले अधिकांश विद्यालयहरु बन्द छन् । विद्यालय बन्द भएको समयमा विद्यार्थीलाई गृहकार्य दिएका छौं । सिर्जनात्मक रुपमा विद्यार्थीहरु उत्तप्रेरित हुने किसिमले चाडवाड कसरी बित्यो भन्ने बारे प्रतिवेदन, लेखहरु लेख्न लगाउने, डायरी लेख्न लगाउने र दैनिकीहरु लेख्ने जस्ता गृहकार्य दिएका छौं । विज्ञान विषय शिक्षक भएको हुँदा मैले विद्यार्थीहरुलाई सस्कृतिसँग पनि विज्ञान जोडिएको छ भन्दै जमरा कसरी राख्ने ? यसको महत्वको बरेमा लेख्ने अभ्यास दिएको छु ।
समाजः यो समयमा शिक्षकहरु के गर्दै हुनुहुन्छ ?
खनालः हाम्रो विद्यालयको सन्दर्भमा सामूहिक भ्रमण जाने जस्ता क्रियाकलाप गर्नु भएको छैन । तर, समग्र शिक्षक साथीहरु भ्रमण जानु भएको, या कतै घुमिरहनु भएको देखिन्छ ।
समाजः शिक्षकहरु भ्रमणमा हुनुहुन्छ भन्नुभयो । भ्रमणलाई कसरी प्रभावकारी बनाउन सकिन्छ ?
खनालः हामी पारिवारिक रुपमा र विद्यालय भित्रबाट पनि विभिन्न ठाउँमा भ्रमण गइरहेका हुन्छौं । धेरैजसो नेपालका पर्यटकीय स्थलहरु र संस्कृति बोकेका ठाउँहरुमा घुम्ने जस्ता कार्य गर्छाैं । यो विद्यालयको परियोजना कार्य भित्र पनि पर्छ । शिक्षकहरुले यस्तो शैक्षिक भ्रमणहरुमा भएका र गरिएका गतिविधिहरु बारे विद्यार्थीसँग बसेर अन्तरक्रिया गर्ने, प्रतिवेदन लेख्न दिने जस्ता कार्यहरु गरे भ्रमण प्रभावकारी बन्छ । नकि सामाजिक सञ्जालमा मात्र सीमित रहने ।
समाजः भ्रमणमा लैजाँदा विद्यार्थीहरु अनियन्त्रित भएमा के गर्नुहुन्छ ?
खनालः स्वभावतः विद्यार्थीहरु विद्यालय भित्र अनुशासित नै हुन्छन् । व्यवहारमा पनि विद्यालय अनुसार फरकपन पनि आउने नै हुन्छ । यस्तो वातावरण आयो भने तुरुन्तै सम्झाउने र ध्यान दिने हो भने त्यो अवस्था नआउला ।
समाजः शिक्षकहरु मात्र पनि सामूहिक भ्रमण जाने सही कि गलत ?
खनालः शिक्षकहरु मात्र पनि सामूहिक भ्रमण जानु पर्छ भन्छु । किनभने त्यो अभ्यासले शिक्षकहरुलाई एक आपसमा नजिक बनाउँछ । बिदाको र अनुकुल समय बनाएर जानु पर्छ । र आफ्नो अनुभव विद्यार्थीहरुलाई पनि सुनाउनु पर्छ ।
समाजः बिदाको समयलाई विद्यार्थीहरुले कसरी उपयोगी बनाउन सकिन्छ ?
खनालः प्रविधिसँग जोडिने मात्र होइन प्रविधिलाई उपयोग गर्ने, शिक्षाका विभिन्न क्रियाकलाप गर्ने, किताबहरु पढ्ने र पढाईका सामग्रीहरु बनाउने कार्य गरी उपयोग गर्ने सुझाव दिन्छु ।
समाजः प्रविधिको उपयोग कतिको राम्रो छ ?
खनालः धेरै उपयोग पनि दुरुपयोग हो । त्यसैले प्रविधिको व्रत बस्ने, एकदिनभर मोबाइल फोनको प्रयोग नगर्ने । यसरी पनि लत लाग्न नदिन सकिन्छ ।
समाजः तपाईलाई साहित्यकार पनि हुनुहुन्छ । शिक्षण र साहित्यलाई कसरी अघि बढाउनुहुन्छ ?
खनालः दुबै क्षेत्र मलाई रमाइलो लाग्छ । साहित्यले मलाई पढाउन सहज बनाउँछ । विद्यार्थीले नबुझेका कुराहरु कथा बनाएर वा कविता बनाएर बुझाउने गर्छु । यसबाट धेरै फाइदा भएको छ ।