बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल

हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशको राजधानी सार्ने र नाम परिवर्तन गर्ने कुरा आफूले नगरेको बताउनुभएको छ। केही समयअघि काठमाडौंमा आयोजित कार्यक्रममा प्रदेशको नाम र राजधानी पायक नभएको भन्ने कार्यक्रमका सहभागीहरुको भनाइलाई स्वभाविक भएको धारणा राखेको मुख्यमन्त्री जम्कट्टेलले बताउनुभएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरको नवौं सभालाई सम्वोधन गर्नुहुँदै उहाँले प्रदेशको नाम र राजधानी बनिसकेको र यसमा दायाँबायाँ नहुने स्पष्ट पार्नुभएको छ। आफूले प्रदेशको राजधानी सार्छु नभनेको र सार्न पनि नसकिने मुख्यमन्त्री जम्कट्टेलको भनाइ छ । प्रदेश सरकारले प्रभावकारी विकासका लागि नीति तथा कार्यक्रमलाई आधार बनाएर काम गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो । जिल्ला समन्वय समितिले जिल्ला भित्रका पालिकालाई समन्वय गरेर शिक्षालाई प्राथमिकता दिएर काम गर्नुपर्ने सुझाव दिनुभएको छ ।