हेटौंडाः अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले हेटौंडा एकजनालाई काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–१५ घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर १३ मा बस्दै आएका २३ वर्षीय शिरिष श्रेष्ठ रहेका छन् ।

श्रेष्ठले फेसबुक र इन्टाग्राम लगायत विभिन्न सामाजिक सञ्जालहरुमा साथी बनाएर माया प्रेमको प्रपञ्चमा पारी मिलियन डलर, आइफोन, घडी, गरगहना र ल्यापटप लगायतका सामानहरुसहितको उपहार पठाएको छु भनी ठगी गर्ने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । श्रेष्ठले विभिन्न नम्बरहरुमा सम्पर्क गरी पार्सल पठाएको फोटो, भिडियो पठाई विश्वास दिलाएको केही समय पश्चात सोही पार्सल टर्की विमानस्थल, काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थल लगायतका विभिन्न देशका भन्सार कार्यालयहरुमा सामान आइपुगेको भनी उक्त पार्सल पाउनका लागि भन्सार शूल्क, डेलिभरी शूल्क, बीमा शूल्क, जस्ता विभिन्न प्रयोजनमा रकम तिर्नु पर्छ भनेर विभिन्न व्यक्तिहरुको नाममा रहेका बैंक खातामा जम्मा १९ लाख २५ हजार रुपैयाँ पठाउन लगाएर ठगी गरेको प्रहरीले जनाएको छ । श्रेष्ठलाई प्रचलित कानुन बमोजिम ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ ।