हरेक वर्ष अगस्त महिनाको १ तारिखदेखि ७ तारिखसम्म विश्व स्तनपान सप्ताह मनाइन्छ । यस वर्ष पनि साउन १६ गते मंगलबारबाट स्तनपान सप्ताह सुरु भएको छ । मकवानपुरमा पनि विभिन्न कार्यक्रम गरी विश्व स्तनपान सप्ताह मनाइँदैछ । स्तनपानको महत्वबारे जानकारी दिन एक सातासम्म विविध कार्यक्रमको आयोजना गरिँदैछ । यस वर्ष ‘स्तनपान गरौँ , काम गरौँ ’ भन्ने नारासहित विश्वभर यो दिवस मनाइँदैछ । नेपालमा पनि ‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरूको प्रतिबद्धता’ भन्ने नाराका साथ दिवस मनाइँदै आएको छ । यस वर्षको स्तनपान दिवसको नाराले ार्यस्थलमा स्तनपानका लागि सुरक्षित वातावरण निर्माण गर्ने र स्तनपान गराइरहेका आमाका लागि बिदाको व्यवस्था गर्ने आवश्यकताबारे जोड दिएको छ । विश्व स्वास्थ्य संगठन र युनिसेफले सरकार र रोजगारदातालाई आमाहरूलाई स्तनपान गराउन आवश्यक समय, ठाउँ र समर्थन प्रदान गर्ने परिवार अनुकूल नीति लागू गर्न आह्वान गर्दै आएको छ ।

स्तनपान सप्ताहभर स्तनपानको महत्वबारे सचेत गराउन, शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने संख्या बढाउन र स्तनपान नगराउँदा हुने समस्याबारे सचेत गराउन जनचेतनामूलक कार्यक्रम भइरहेका छन् । सन् १९९२ देखि नेपालसहित विश्वभर यो दिवस मनाउन सुरु गरिएको हो । नेपालमा स्वास्थ्य मन्त्रालय, प्रदेशका स्वास्थ्य निर्देशनालय तथा जिल्ला स्वास्थ्य कार्यालयसहित स्थानी तहका स्वास्थ्य केन्द्र÷चौकीमार्फत् स्तनपान सप्ताहमा कार्यक्रमहरु भइरहेका छन् । विभिन्न स्थानीय तहमा रहेका स्वास्थ्य स्वयम्सेविकासँग छलफल गरिएको छ । मकवानपुर जिल्लामा यो सप्ताह १ सय ८ स्वास्थ्य संस्था र १० पालिकाले मनाइरहेका छन् ।

स्तनपानको प्रचलन कहिलदेखि सुरु भयो भन्ने कुनै प्रमाणित तथ्यहरु छैन । स्तनपानलाई शिशुको सबैभन्दा पुरानो आहार मान्न सकिन्छ । यसलाई पहिलो खोपसमेत भन्ने गरिन्छ । दूधमा रोग निरोधक तत्व हुन्छ, जसले नवजात शिशुको रोगसँग लड्नसक्ने क्षमता विकसित गर्न मद्दत गर्दछ । चिकित्सकका अनुसार शिशुलाई जन्मेको एक घण्टामा स्तनपान गराउनुपर्छ । ६ महिनामुनिका शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्व आमाको दूधमै पर्याप्त रहेको हुन्छ । आमाको दूध शिशुको लागि सर्वोत्तम आहार हुने र यसले शिशुको रोगसँग लड्नसक्ने क्षमतालाई पनि बढाउने चिकित्सकको भनाइ छ । स्तनपानले महिलाहरूमा स्तन क्यान्सर र पाठेघर क्यान्सर हुने जोखिमलाई कम गर्ने गर्दछ ।

स्तनपान शिशुका लागि अपरिहार्य भए पनि कतिपय शिशुहरु आमाको दूध खानबाट वञ्चित भइरहेका छन् । शिशुलाई पूर्ण स्तनपान नगराउँदा कुपोषणको समस्या पनि देखिने गरेको छ । स्तनपान गराउनुपर्छ भन्ने ज्ञान हुनेहरुले पनि पाउडर तथा अन्य कृत्रिम दूध खुवाउने प्रचलन बढ्दै गएको छ । स्तनपानको अभावमा बच्चामा ख्याउटेपनको समस्यामात्रै होइन, विभिन्न रोगको संक्रमण हुने खतरा पनि बढिरहेको हुन्छ । महिलाले आफ्नो स्वास्थ्य बिग्रन्छ भन्ने गलत मान्यताले बच्चालाई स्तनपान नगराउँदा आमा र शिशु दुबैलाई घाटा हुनेतर्फ सबै जना जानकार हुनुपर्छ । शिशुका लागि स्तनपान गराउन सबै आमा र सम्बद्ध पक्ष जागरुक र प्रतिबद्ध बन्नु आवश्यक छ ।