हेटौँडाः हेटौँडास्थित एक होटलमा जुवा खेल्ने एक समूहलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले बिहीबार साँझ ५ बजेर ४० मिनेटको समयमा हेटौँडा–२ स्थित एभोकाडो होटलबाट २ लाख ५४ हजार ४ सय २० रुपैयाँ नगदसहित पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौँडा–१ का ४० वर्षीय बलराम बिश्वकर्मा, हेटौँडा–१२ का ३५ वर्षीय दीपक घले, हेटौँडा–५ का ३४ वर्षीय सहदेव लम्साल, हेटौँडा–४ का ४२ वर्षीय प्रकाश मानन्धर र चितवन जिल्लाको भरतपुर महानगरपालिका–२ घर भई हाल हेटौँडा–४ बस्ने ४५ वर्षीय सुन्दर कुमार श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले २ बुक सिल तास, २ बुक खुल्ला तास र जुवा खेल्न प्रयोग गरेको क्वाईन ७६ थान पनि बरामद गरेको जनाएको छ । प्रहरीले घटनाको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।
एभोकाडो होटलका व्यवस्थापनका अनुसार बद्रिबहादुर खड्काको नाममा मंगलबारदेखि बुकिङ भएको कोठामा प्रहरीले छापा मार्दा जुवा खेलिरहेको पाइएको हो । मकवानपुरमा प्रहरी प्रमुख फेरिएलगत्तै जुवा खेल्ने समूहलाई पक्राउ गरिएको हो । प्रहरी प्रमुख फेरिएसँगै अपराध अनुसन्धान र संलग्नहरुलाई पक्राउ गर्ने कार्यमा तीव्रता देखिन्छ । क्रमशः आपराधिक क्रियाकलापमा प्रहरीको सक्रियता सुस्ताउँदै जाने गरेको छ ।