हेटौंडाः श्रमिक बालबालिकाको उद्दार बालुवामा पानी हालेजस्तो भएको छ । आउँदो मंसिर मसान्तभित्र हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री बनाउने अभियानअन्तर्गत् श्रमिक बालबालिकाहरुको उद्दार कार्य भइरहेको छ । उक्त कार्य बालुवामा पानी हालेजस्तो भएको पाइएको हो ।
हेटौंडा—१० की वडा सहजकर्ता सविता बिष्टले भन्नुभयो— ‘श्रमिक बालबालिकाको उद्दार गरी अभिभावकलाई जिम्मा लगाउने कार्यमात्र स्थानीय सरकारले गरिरहेको छ । तर ती श्रमिक बालबालिकाको आधारभूत आवश्यकता र संरक्षणमा जोड दिएको छैन । जसले गर्दा श्रमिक बालबालिकाको उद्दार बालुवामा पानी हालेजस्तो भएको छ ।’
गत बैशाख २० गते ४ जना, जेठ २४ गते ३ जना, असार २७ गते ३ जना, साउन ७ गते एक जना गरी १८ वर्षभन्दा मुनिका ११ जना बालबालिकालाई उद्दार गरिएको छ । ती बालबालबालिकालाई वर्कशप, होटल, घरेलु कामदार र सडकमा अपलपत्र परिरहेको अवस्थामा उद्दार गरिएको उहा“ले जानकारी दिनुभयो । यस्तै, गत जेठ २५ गते एक बालविवाह रोकिएको र असार १७ गते एक बलात्कृत नबालिकालाई जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरीका लागि सहयोग गरिएको छ ।
स्थानीय सरकारको महत्वपूर्ण जिम्मेवारी बालबालिकाको संरक्षण हो । वडा सहजकर्ता बिष्टले भन्नुभयो— ‘कतिपय होटल र वर्कशपहरुलाई श्रमिक बालबालिकालाई प्रयोग नगर्न चेतावनी दिने गरेका छौं । सोही क्रममा धादिङ होटलका सञ्चालकले आफूलाई अपशब्द प्रयोग गरे । फोन गरेर पटकपटक धम्की दिएपछि प्रहरीमा उजुरी गर्छु भनेपछि अहिले धम्की दिन छाडेका छन् ।’
विभिन्न चुनौती झेलेएर वडा सहजकर्ताले काम गर्नु परिरहेको उहाँले जानकारी दिनुभयो । हेटौंडा उपमहानगर भने वडा सहजकर्ताको मात्र उक्त कार्य हो भन्दै पन्छिने गरेको आरोप उहाँले लगाउनुभयो । सबैको साथ र सहकार्य आवश्यक रहेको बताउनुहुँदै यही दिशामा बालमैत्री अभियान अघि बढे तोकिएको समयमा बालमैत्री स्थानीय शासन घोषणा हुन नसक्ने उहाँको भनाइ छ । वडालाई आउँदो भदौ २९ गते राष्ट्रिय बाल दिवसको अवसरमा बालमैत्री घोषणा गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।
छोटो समयमै बालमैत्री घोषणा गरिए निष्कृष्ट बालश्रम घोषणाजस्तै घोषणामा मात्र सिमित हुने उहाँले बताउनुभयो । २०७३ सालमा उक्त वडालाई निस्कृष्ट बालश्रममुक्त घोषणा अभियानमा सामाजिक परिचालकका रुपमा काम पनि गरेको उहाँले बताउनुभयो । अहिलेको जस्तो बोल्ने वातावरण थिएन, जसले गर्दा पनि सहजैरुपमा निस्कृष्ट बालश्रम घोषणा गर्न सकियो । ‘बालमैत्री स्थानीय शासन घोषणाबारे राष्ट्रिय प्रशिक्षकबाट अभिमुखीकरण लिएका छौं’, उहाँले भन्नुभयो– ‘विकृति, विसंगतिविरुद्व आवाज उठाउने छौं । अनुभवी भएपछि दिगोपनका लागि मात्र बालमैत्री अभियान होइन बुझेका छौं ।’
उद्दार गरिएका श्रमिक बालबालिका फेरि फर्केर आउने गरेको उहाँले जानकारी दिनुभयो । जनचेतना फैलाउने र चेतवानी दिने गर्दा पनि श्रमिक बालबालिका विस्थापित हुन नसकेको भन्दै दुःख व्यक्त गर्नुभयो । श्रम स्विकृति लिएर श्रमिक बालबालिका प्रयोग गर्न आग्रह गर्ने गरिएको उहाँको भनाइ छ ।
जरिवानासमेत लिने गरिएको अवस्थामा पनि अझै श्रमिक बालबालिका विस्थापित हुन सकेका छैनन् । नियुक्ति भएको ५ महिनामा बालक्लब, बालसमूह गठन, सुर्तिजन्य पदार्थविरुद्व जनचेतना फैलाउने र श्रमिक बालबालिकाको उद्दार कार्य गरिएको छ । बालमैत्री वडा घोषणका लागि ५१ सूचक पूरा हुनुपर्दछ ।