बालश्रमसम्बन्धी सांकेतिक तस्वीर । स्रोतः गुगल ।

हेटौंडाः बालमैत्री पालिका घोषणा भएको मकवानपुरको मनहरी गाउँपालिकामा एकैदिन ७ जना बालश्रमिकको उद्दार गरिएको छ । बिहिबार श्रम कार्यालय हेटौंडाको अगुवाईमा भएको अनुगमनमा मनहरीमा ७ जना बालश्रमिकको उद्दार गर्नुका साथै हेटौंडाका एकजना व्यवसायीलाई बालश्रम प्रयोग गरेको भन्दै जरिवाना गरेको छ ।

बालश्रमको समस्यालाई सम्बोधन गर्न बाल हेल्पलाइन, मनहरी गाउँपालिका र श्रम कार्यालयको संयुक्त अनुगमन टोलीले मनहरी गाउँपालिकाका होटल, ग्यारेज लगायतका स्थानमा निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा टोलीले मनहरी वडा नम्बर ६ को सन्दिप होटलमा २ जना बालिका र लोथर होटलमा १ जना बालक, मनहरी–७ को सिन्तान गाडीवास सेन्टरमा ३ जना बालक, मनहरी–८ को श्रेष्ठ होटलमा १ जना बालक गरी ७ जना बालबालिका बालश्रम गरिहेको अवस्थामा फेला पारेको मनहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन श्रेष्ठले जानकारी दिनुभएको छ । श्रममा रहेका बालबालिकाहरु १२ वर्षदेखि १६ वर्षसम्मका रहेको बताइएको छ ।

श्रम कार्यालय हेटौंडाको अगुवाईमा सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित अनुमगन टोलीले १४ वर्षीय बालकलाई श्रममा लगाएको पाइएपछि श्रम कार्यालयले हेटौंडा–११, थानाभ¥याङस्थित कटन क्यान्डि कारखानाका सञ्चालक श्याम मालीलाई जरिवाना गरेको छ । श्रममा रहेका बालकको उद्दार गरी परिवारको जिम्मा लगाइएको सिविन बालहेल्पलाइन हेटौंडाका प्रबन्धक झविन्द्र ज्ञवालीले जानकारी दिनुभएको छ । एक महिना अगाडि उद्दार गरी बाल हेल्पलाइको संरक्षणमा पठाइएको बालकलाई पुनः कटन क्याण्डी बेच्ने काममा लगाएको पाइएपछि जरिवाना गरिएको ज्ञवालीको भनाइ छ । श्रम तथा रोजगार कार्यालयका निमित्त कार्यालय प्रमुख भिम शर्मा, हेटौंडा उपमहानगरपालिकाका निर्मला दाहाल, बालमैत्री सहजकर्ता रस्मिता कुमारी रिजाल, बाल हेल्पलाइनका प्रबन्धक झबिन्द्र ज्ञवालीसहितको टोलीले अनुगमन गरेको हो ।

आगामी दिनमा बालश्रमको प्रयोग नगर्ने प्रतिवद्धता कटन क्यान्डि संचालक मालीले गरेका छन् । बालकलाई बुबा सकल महरा चमारको जिम्मा लगाइएको छ भने आगामी दिनमा बालश्रममा नपठाउने बालकका बुबाले बताएका छन् । हेटौंडामा एक मात्र कटन क्यान्डि रहेको र पटक पटक बालश्रम प्रयोग नगराउन चेतावनी दिँदा समेत अटेर गरेकोले जरिवाना गर्नु परेको जनाइएको छ ।

बालश्रम निषेध र नियमित गर्ने ऐन २०५६ ले १६ वर्षसम्मका बालबालिकालाई जोखिमपूर्ण कार्यमा लगाउन निषेध गरेको छ । बालश्रम अनुगमन गरिएका व्यवसाय संचालकहरुलाई छिटो भन्दा छिटो बालबालिकालाई पारिवारिक पुनःस्थापना गराउन निर्देशन समेत दिइएको र अटेर गरेमा कारवाहि गरिने श्रम कार्यालयका भिम शर्माले बताउनुभयो । अनुगमन टोलीमा मनहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ, लेखा प्रमुख राजेन्द्र भट्टराई, श्रम तथा रोजगार कार्यालयका भिम शर्मा, मनहरी गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख शिला अधिकारी, सामाजिक विकास शाखा प्रमुख शैलेस बासकोटा, बाल हेल्पलाइनका प्रबन्धक झबिन्द्र ज्ञवाली, बालअधिकार समितिका प्रतिनिधि देवकी ढुङ्गाना, अस्मिता कार्की र प्रहरीको सहभागिता रहेको थियो ।