गुगल तस्बिर ।

हेटौंडाः गतवर्ष जस्तै यस वर्ष पनि डेंगु संक्रमणको लहर बढ्ने बताइएको छ । गर्मी महिना सुरु भएको र पानी पर्ने भएकाले डेंगु संक्रमण बढ्ने जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत तथा सूचना आधिकारी लक्ष्मण घिमिरेले जानकरी दिनुभयो ।

‘डेंगू सफा पानीमा बस्छ’, घिमिरेले भन्नुभयो– ‘पानी परेपछि पहिलाको सबै लार्भा सक्रिय हुन्छ । त्यसपछि डेंगु र लामखुट्टे बढ्छ ।’ केही महिना अघिसम्म डेंगु संक्रमण व्यापक रहेको हुँदा धेरै संक्रमित लामखुट्टेको फुल र लार्भा भएकाले डेंगु संक्रमण व्यापक हुने जनस्वास्थ्य अधिकृत घिमिरेले जानकारी दिनुभयो ।

डेंंगु नियन्त्रण र यसबाट बच्नका लागि सबैभन्दा महत्वपूर्ण कुरा जनचेतना रहेको घिमिरेले जानकारी दिनुभयो । ‘अहिलेको अवस्थामा डेंगु कसरी लाग्छ थाहा नपाउने कोही छैन’, जनस्वास्थ्य अधिकृत घिमिरेले भन्नुभयो– ‘डेंगुबाट बच्न पूरा बाहुला भएको कपडा लगाउने , झुल हालेर सुत्ने र लामखुट्टेबाट बच्ने नै सबैभन्दा प्रभावकारी उपाय हो ।’

रेडियो तथा पत्रपत्रिकाबाट डेंगुबारे जनचेतना दिने काम भइरहेको घिमिरेको भनाई छ । यसअघि डेंगु संक्रमण व्यापक रहेको बेलामा परीक्षण किट अभाव भएको स्मरण गर्दै घिमिरेले यस वर्ष परीक्षण किटको स्टक राख्ने व्यवस्था गरिएको घिमिरेले जानकारी दिनुभयो ।

डेंगु संक्रमण भएपछि शरीरमा सेतो रगतको कमी हुन्छ । कम भएको प्लटलेट्स बढाउन प्लाज्मा हाल्नुपर्छ । नेपाल रेडक्रस सोसाइटीले आफैं प्लाज्मा बनाउन थालेका कारण विगतमा जस्तो भरतपुर नै जानुपर्ने अवस्था अहिले नरहेको घिमिरेले जानकारी दिनुभयो ।

हेटौंडा उपमहानगरपालिकालगायत अन्य संघसंस्थासँगको सहयोगमा प्लाज्मा तयार पार्न सकिने घिमिरेले बताउनुभयो । चैत महिनाभित्रै सरकारी तथा निजी अस्पताल, क्लिनिक, एनजीओ/आइएनजीओको सहभागितामा डेंगु नियन्त्रणसम्बन्धमा बैठक बस्ने उहाँले बताउनुभयो ।