फाइल तस्बिर ।

हेटौंडाः आगामी चैत्र ७ गते मंगलबारदेखि हेटौंडा उपमहानगरभित्रका विद्यालयहरुमा विद्यालय तहको वार्षिक परीक्षा सञ्चालन हुँदैछ । नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौंडाले उपमहानगरभित्रका ४४ वटा विद्यालयमा एकैसाथ वार्षिक परीक्षा सञ्चालन गर्दैछ ।

कक्षा ४ देखि ७ सम्म र ९ कक्षाको परीक्षा समितिले सञ्चालन गर्दैछ । परीक्षामा ५ हजार ७ सय विद्यार्थी सहभागी हुने नगरस्तरीय शैक्षिक समन्वय समिति मकवानपुरका अध्यक्ष सागर खतिवडाले जानकारी दिनुभयो । परीक्षा १४ गतेसम्म सञ्चालन हुनेछ ।

समितिले वार्षिक परीक्षाको प्रश्नपत्र र उत्तरपुस्तिका उपलब्ध गराउने अध्यक्ष खतिवडाले जानकारी दिनुभयो । परीक्षाको उत्तरपुस्तिका परीक्षण तथा नतिजा प्रकाशन भने सम्बन्धित विद्यालयले नै गर्ने उहाँले जानकारी दिनुभयो । विद्यालय तहको कक्षा—३ सम्मका परीक्षा विद्यालयले आन्तरिकरुपमा लिने भएकाले विद्यालयले नै प्रश्नपत्र तयार पारेको अध्यक्ष खतिवडाको भनाई छ ।

यसअघि समितिले सञ्चालन गरेको अर्धवार्षिक परीक्षामा ३७ वटा विद्यालयमा मात्र एकैसाथ परीक्षा सञ्चालन भएको थियो । प्रश्नपत्र, उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशनजस्ता कार्यमा एकरुपता ल्याउने उद्देश्यले एकसाथ परीक्षा सञ्चालन गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

हेटौंडा—२ स्थित सिद्वार्थ माध्यमिक विद्यालयका शिक्षकसमेत रहनुभएका खतिवडाले एक वर्षको शिक्षण सिकाईको मूल्यांकनमा एकरुपता ल्याउन समितिले गरेको कार्यलाई सकारात्मकरुपमा लिइएको बताउनुभयो । ‘विगत २ वर्ष कोरोना महामारीका कारण नियमित पठनपाठन हुन सकेको थिएन’, खतिवडाले भन्नुभयो— ‘घरमा बसिरहेका बालबालिकालाई असहज परिस्थितिका बीचमा नियमित विद्यालय आउने वातावरण निर्माण गर्न समितिले सहजीकरण गरेको थियो ।’

सिद्वार्थमा कक्षा ४ का ९५ जना, कक्षा ५ का एक सय २ जना, कक्षा ६ का एक सय २५ जना, कक्षा ७ का एक सय ५७ जना र कक्षा ९ का एक सय ८९ जना विद्यार्थी परीक्षामा सहभागी हुने उहाँले जानकारी दिनुभयो । तल्लो तहमा भन्दा माथिल्लो तहमा विद्यार्थी बढ्दै गएको खतिवडाले बताउनुभयो । प्रायः अन्यन्त्र जिल्ला तथा तराईबाट पनि विद्यार्थी पढ्न आउने भएकाले विद्यार्थीको संख्या बढ्दै गएको उहाँको भनाई छ ।

यस्तै, हेटौंडा—४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयले आन्तरिकरुपमा वार्षिक परीक्षा लिने भएको छ । यसअघि सञ्चालन भएका परीक्षा आन्तरिकरुपमा लिँदै आइरहेको विद्यालयका प्रधानाध्यापक दीपक अधिकारीले बताउनुभयो । आधुनिकमा चैत ६ गतेदेखि १४ गतेसम्म परीक्षा सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । एक वर्षको शिक्षण सिकाई कस्तो भयो भन्ने कुरा वार्षिक परीक्षाको नतिजा प्रकाशनप्रश्चात् मात्र थाहा पाउने उहाँले बताउनुभयो ।

हेटौंडा उपमहानगरपालिकामा ७५ वटा सामुदायिक विद्यालय रहेका छन् । यसैगरी आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको कक्षा—४ मा अध्ययनरत् विज्ञापन सापकोटाले परीक्षाको तयारी गरिरहेको बताउनुभयो । घरमा आमाबाबु पनि शिक्षित भएकाले घरमा पढ्ने वातावरणमा सहयोग पुगेको उहाँले बताउनुभयो ।