हेटौंडाः व्यवसायीको छाता संस्था मकवानपुर उद्योग वाणिज्य (मउवा) संघले व्यवसायीले लिएका कर्जाको लकडाउनको अवधिको व्याज छुटको माग गरेको छ । लकडाउनका कारण व्यवसाय पूर्णतः बन्द भएको भन्दै आज एक प्रेस विज्ञप्ति जारी गर्दै संघले लकडाउन अन्त्य भएपछि व्यवसायीलाई थप कर्जा दिन र कर्जाको व्याजदर पनि लकडाउन अघिको भन्दा ५ प्रतिशतसम्म कम दरमा दिन माग गरेको छ ।

निरन्तर करमार्फत योगदान गरेका उद्योगी व्यवसायीहरुलाई सहुलियत प्रदान गर्न नेपाल सरकार र राष्ट्र बैंकसँग संघले आग्रह गरेको छ । यस बीचमा सञ्चार माध्यममा सार्वजनिक भएको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दहालले “व्यवसायीले नाफा लुकाउने भएकोले व्याज छुट दिन हुन्न” भनेको खबर प्रति संघको ध्यानाकर्षण भएको जनाएको छ । गैरजिम्मेवार टिप्पणीप्रति संघले खेद प्रकट गरेको छ । ‘ठूलो अर्थतन्त्र भएको देशमासमेत आर्थिक संकटको भयावह अवस्था आउनसक्ने आँकलन भइरहँदा नेपालका उद्योगी व्यवसायीहरु पनि चोटग्रस्त अवस्थामा रहेको समयमा यसरी व्यक्त गैरजिम्मेवार अभिव्यक्ति प्रति भत्र्सना गर्दछौं ।’