हेटौंडाः बागमती प्रदेश मातहतमा रहेका ७ वटा अस्पताल विकास समितिका अध्यक्षहरुसँग सामाजिक विकास मन्त्रालयले छलफल गरेको छ । मन्त्रालयले सोमबार कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रणको लागि अस्पतालले गरेका प्रयास, काम र तयारीका विषय साथै अगामी दिनमा चाल्नुपर्ने कदमहरुको बारेमा अस्पतालका अध्यक्षहरुसँग छलफल गरेको हो ।

सामाजिक विकास मन्त्री युवराज दुलालसहित मन्त्रालयका वरिष्ठ चिकित्सक डा. पुरुषोत्तम सेढाई लगायतको छलफलमा उपस्थिति रहेको थियो । यस्तै हेटौंडा अस्पतालमा पनि प्रदेश मातहतका अस्पतालका अध्यक्षहरुको बैठक भएको थियो । बैठकमा अस्पतालको विस्तार, कर्मचारी व्यवस्थापन, संचरना तथा प्रदेश मातहतका अस्पतालले एकद्वार प्रणालीबाट सेवा दिन छलफल भएको हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो । जनतालाई सजिलै सेवा दिने विषयमा छलफल भएको उहाँले बताउनुभयो ।

बैठकमा सहभागीहरु ।

त्यस्तै हेटौंडा अस्पतालमा भएको बैठकमा स्वास्थ्य बिमाको विषयमा पनि छलफल भएको थियो । बागमती प्रदेश मातहतका ४ अस्पतालमा अहिले स्वास्थ्य बिमा कार्यक्रम संचालन भइरहेको छ । सबै अस्पतालमा विस्तार गर्न तथा एउटै कोडबाट प्रदेशभरका नागरिकले सेवा लिन सक्ने बारे छलफल भएको अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो । यस्तै निशुल्क औषधी वितरण, अस्पतालको विकास र स्रोत साधन परिचालन सम्बन्धी पनि छलफल भएको उहाँले जानकारी दिनुभयो ।