विश्वलाई नै प्रभाव पारेको कोरोना भाइरसले नेपाली किसानहरु पनि मर्कामा परेका छन् । कोभिड–१९ को संक्रमण फैलन नदिन सरकारले लगाएको बन्दाबन्दीले किसान र उपभोक्ता दुबै प्रभावित भएका छन् । कृषकको उत्पादनले बजार पाएका छैनन् भने उपभोक्ताहरुले पनि सहजै उपभोग गर्न पाउने अवस्था छैन । सबै जिल्लाहरुमा व्यावसायिक खेती गर्ने किसानहरु संकटमा परेका छन् । उनीहरु सरकारबाट विशेष राहतको पर्खाईमा छन् । सरकारले हाल अल्पकालिन राहतको प्याकेज ल्याएको छ । यसले किसानको लगानी जोगाउन सक्ने अवस्था देखिएको छैन । त्यसैले समुदायबाटै उपभोक्तालाई सहुलियत र किसानको उत्पादनको खपत हुने व्यवस्था मिलाउनु पर्दछ । स्थानीय सरकारले पनि आफ्ना किसान र उपभोक्ता बीच पुलको भूमिका खेल्ने गरी कार्यक्रम र योजना बनाउनु पर्दछ । दैनिक ज्यालादारी गर्नेहरुलाई सामान्य राहतको व्यवस्थापन गरेकै भरमा नागरिक प्रतिको सम्पूर्ण जिम्मेवारी पुरा हुन सक्दैन । विशेषगरी तरकारी, फलफुल, कुखुरा, दुध जस्ता दैनिक उत्पादन भई तत्कालै बजारमा खपत हुनुपर्ने वस्तुका विषयमा पनि स्थानीय सरकारहरुले काम गर्नुपर्ने देखिन्छ ।
मकवानपुर जिल्लाको पालुङ तथा हाँडीखोला तरकारीका लागि पकेट क्षेत्र नै हुन् । यहाँ उत्पादन हुने तरकारीहरुले बजार पाउन सकेका छैनन् भने उपभोक्ताहरुले पनि भारतबाट आयात भएको तरकारी उपभोग गर्नु परेको छ । मकवानपुरमा उत्पादन भएका तरकारीहरु यस अघि जिल्ला बाहिर विशेषगरी काठमाण्डौ निकासी हुँदै आएको हो । तर यतिबेला निकासी गर्ने अवस्था नभएकाले किसान समस्यामा परेका छन् । तरकारीहरु बारीमै सुक्ने तथा कुहिने अवस्था आएपछि उनीहरुको लगानी डुब्ने अवस्थामा छ । यही अवस्थाको निराकरणका लागि हेटौंडा क्षेत्रमा रहेका केही सहकारीहरुले सहकार्य गर्दै किसानका उत्पादनहरुलाई उपभोक्तासम्म पुर्याउने प्रयास गरेका छन् । मकवानपुर जिल्लाका सहकारी संघ तथा प्रारम्भिक सहकारी संस्था मार्फत हेटौंडामा तरकारी बिक्री वितरण सुरु भएको छ । जिल्लाको उत्तरीक्षेत्र थाहा नगरपालिकाबाट ल्याइएको तरकारी सहकारी संस्थाहरुको समन्वयमा सेयर सदस्यलाई बिक्री वितरण गरिएको हो । दिन बिराएर तरकारी वितरणको व्यवस्थाले हेटौंडाका उपभोक्ताहरुले सहुलियत दरमा विभिन्न प्रकारका तरकारी प्रयोग गर्न पाउने भएका छन् । सहकारीको यो कार्यले व्यावसायिक रुपमा खेती गरेका किसानले पनि राहतको अनुभूति गर्ने छन् ।
किसानका उत्पादनलाई बजारसम्म पुर्याउन यतिबेला बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एउटा जीप सहयोग गरेको छ । यस प्रकारको साझेदारीबाट लकडाउनको असहज अवस्थामा रहेका किसान र उपभोक्ताहरुलाई सेवा पुग्ने छ भने सहकारीमा कार्यरत कर्मचारीहरुले पनि कामको अवसर पाएका छन् । सहकारीले आफ्ना सदस्यहरुबाट आएको माग अनुसार तरकारीको प्याकेट बनाई विक्री गर्ने गरेको छ । तरकारी जस्तै दुध तथा दुधजन्य उत्पादनको पनि उचित बजारीकरण हुने सके किसानलाई पशुआहारका लागि पनि केही टेवा पुग्ने छ । मकवानपुर जिल्लाको सहकारी संघ तथा प्रारम्भिक सहकारी संस्थाले थालेको यो नमूना अभियानलाई अन्य क्षेत्र र जिल्लाहरुमा पनि लागु गर्ने हो भने त्यहाँका दुबै पक्षले लाभ लिन सक्ने छन् । यस्तो अभियान लकडाउनका अवस्थामा मात्र नभई सधैका लागि संस्कृतिका रुपमा विकास गर्ने हो भने नमूना समाज निर्माण हुन सक्छ । यसले उपभोक्ता र किसानलाई ठग्दै विचौलियाहरुले गर्ने दलालीको पनि अन्त्य हुने छ ।