छापा पत्रकारितासम्बन्धी बहसमा सहभागीहरु ।

वर्ष उत्कृष्ट सहकर्मीबाट नहर्की सम्मानित
हेटौँडाः बागमती प्रदेशको राजधानी हेटौँडाबाट प्रकाशन हुँदै आएको समृद्ध समाज राष्ट्रिय दैनिकको १५ औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । शनिबार हेटौँडामा एक समारोहका बीच वार्षिकोत्सव सम्पन्न भएको हो ।

वार्षिकोत्सवको अवसरमा समृद्ध समाज राष्ट्रिय दैनिकले “छापा पत्रकारिताः चौतर्फी चुनौतिका बीच अब के गर्ने ?” शीर्षकमा बहसको आयोेजना गरेको थियो । अग्रज पत्रकार राममणि दाहाल, बागमती प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटा, युवा पत्रकार सुनिता बिष्ट सहभागी छलफलमा साहित्यकार/पत्रकार छवि अनित्यले सहजीकरण गर्नुभएको थियो । पत्रकारिता क्षेत्रमा तीव्र आलोचना भइरहेका, चौतर्फी चुनौति भइरहेको सन्दर्भमा बहसमार्फत सरोकारवालालाई केही नयाँ सोँच अभिवृद्धि हुने अपेक्षासहित बहसको आयोजना गरिएको समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठले स्पष्ट पार्नुभयो ।

वार्षिकोत्सव समारोहमा सहभागी आमन्त्रितहरु ।

बहसमा सहभागीले छापा माध्यमको औचित्यमाथि प्रश्न उठ्दै गर्दा पाठकीय रुचि र पाठकका लागि उपयोगी सामग्री तयार पार्न छापा माध्यमका पत्रकारले मिहिनेत गर्नुपर्ने बताएका छन् । छापा माध्यमको प्रयोग कम भइरहँदा छापा माध्यमको उपयोगिता, प्रभावकारिताका विषयमा पाठकलाई अभिमुखीकरण समेत गर्नुपर्ने, राज्यले छापा माध्यममैत्री नीति लिनुपर्ने, श्रमजीवी पत्रकारको पेशागत सुरक्षाका लागि सञ्चार माध्यमका सञ्चालकले ध्यान दिनुपर्ने लगायतका धारणा बहसकर्ताको थियो ।

वार्षिकोत्सवको अवसरमा समृद्ध समाज राष्ट्रिय दैनिकले अतिथि र कार्यक्रममा सहभागी सबैलाई पुस्तक उपहार दिएको थियो । पुस्तक उपहारका लागि हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलसँग सहकार्य गरिएको थियो । यस्तै समृद्धले उत्कृष्ट वर्ष सहकर्मीको रुपमा बजार व्यवस्थापक राजेन्द्र नहर्कीलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरेको छ । समृद्ध समाजमा विभिन्न समयमा कार्य गरेर छाडेका पूर्वसहकर्मीलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो ।

पुस्तक आदानप्रदान कार्यक्रममा सुवास र भावना ।

वार्षिकोत्सवकै अवसरमा आयोजित निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका विद्यार्थीलाई पुरस्कार वितरण पनि गरिएको थियो । शुक्रबार मकवानपुर बहुमुखी क्याम्पसको सेमिनार हलमा भएको ‘सामाजिक चेतनाका लागि समाचारपत्र’ शीर्षकको स्थलगत निबन्ध लेखन प्रतियोगितामा सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीका सचिन कुमार यादव प्रथम हुनुभएको थियो ।

प्रतियोगितामा हेटौँडा–५ स्थित सिद्धार्थ शिशु सदनमा कक्षा–१० का अग्रिम खड्का दोस्रो, हेटौँडा–४ स्थित नवोदय शिशु सदनको कक्षा–१० की ओशिका सुवेदी तृतीय हुँदा हेटौँडा–४ स्थित भुटनदेवी माविमा कक्षा ११ का सिद्धार्थ फुयाँल सान्त्वना हुनुभएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीले क्रमशः ३ हजार, २ हजार, १ हजार ५ सय र १ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।