तस्वीरः गुगल

हेटौंडा, ५ बैशाखः कोरोना भाइरसको संक्रमणको आशंकामा हेटौंडा अस्पतालले सञ्चालन गरेको आइसोलेसन वार्डमा ३ दिन बसेर डिसचार्ज भएका एक व्यक्तिको हिजो साँझ मृत्यु भएको छ । आइसोलेसनमा राखेर स्वाब टेस्ट गर्दा कोरोना भाइरस नेगेटिभ देखिएपछि बैशाख १ गतेका दिन डिसचार्ज भएका हेटौंडा–१, लालझाडी बस्दै आएका ५२ वर्षीय हुमबहादुर सञ्जेलको हिजो साँझ साढे ५ बजे मृत्यु भएको बताइएको छ । सञ्जेल ४ महिनाअघि भारतको नयाँ दिल्लीबाट हेटौंडा आएका थिए ।
हेटौंडा अस्पतालले सञ्चालन गरेको आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईका अनुसार हिजो साँझ साढे ५ बजेको समयमा सञ्जेलको मृत्यु भयो भन्ने खबर आएपछि सबै तयारी गरेर राती करिब १० बजे स्वाब संकलन गरिएको छ । सञ्जेलको स्वाब आज हेटौंडास्थित प्रयोगशालामा परीक्षण गरिने छ । हेटौंडा–१, लालझाडीमा दिदीको घरमा बस्दै आएका सञ्जेलको स्वास्थ्य अवस्था सामान्य रहेको र हिजो दिउँसो मकै गोड्न गएका थिए ।