हेटौंडा, ५ बैशाखः जेसीआई हेटौंडा लेडीले रक्तसञ्चार केन्द्रमै पुगेर आयोजना गरेको रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन् । जारी लक डाउनका कारण रक्तसञ्चार केन्द्र हेटौंडामा रगतको अभाव भएको भन्ने खबरपछि जेसीआई हेटौंडा लेडीले आज बिहान रक्तदान कार्यक्रमको आयोजना गरेको हो । जेसीआई हेटौंडा लेडीकी उपाध्यक्ष गंगाकुमारी श्रेष्ठको संयोजकत्वमा रक्तदान कार्यक्रम भएको हो ।
सामान्य अवस्थामा विभिन्न संघ, संस्थाले सामाजिक सेवाको महत्वपूर्ण क्रियाकलापको रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको थियो । रक्तदानलाई जीवनदानको नारा दिएर संघ, संस्थाले आफ्ना वार्षिकोत्सव, स्थापना दिवस, विशेष अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेका छन् । यसरी आयोजना गरिने कार्यक्रमले स्वास्थ्य उपचारका क्रममा आवश्यक रगतको माग पूरा गरिरहेको थियो । तर, कोरोना भाइरसको संक्रमणको जोखिम न्यून गर्न भन्दै सरकारले चैत ११ गतेदेखि आव्हान गरेको लक डाउनका कारण रक्तदान कार्यक्रमको आयोजना हुने स्थिति नहुँदा बेला बेलामा रक्तसञ्चार केन्द्रमै रगतको अभाव हुने गरेको छ ।
रगतको अभाव टार्नकै लागि विभिन्न संघ, संस्था रक्तसञ्चार केन्द्रमै पुगेर रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । केही दिनअघि हेटौंडाको एफसी विजय युथ क्लबले पनि रक्तसञ्चार केन्द्रमै पुगेर २३ जनाले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । यस्तै कपडा तथा तयारी पोशाक व्यवसायी संघका पदाधिकारीले पनि रक्तसञ्चार केन्द्रमै पुगेर ६ जनाले रक्तदान गरेका थिए ।
रक्तसञ्चार केन्द्र हेटौंडामा दैनिक औसत ७ युनिट रगतको माग हुने गरेको केन्द्र प्रमुख टंक दाहालले जानकारी दिनुभयो । रगतको अभाव हुँदा रक्तसञ्चार केन्द्रका कर्मचारीले सम्पर्कमा रहेका रक्तदातालाई रक्तसञ्चार केन्द्रमै बोलाएर पनि रगत संकलन गरी मागअनुसारको आपूर्ति व्यवस्था मिलाउने गरेको छ । आज संकलित रगतले अबको एक साता रगतको माग धान्न सहज भएको रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंक दालले बताउनुभयो ।