हेटौंडाः २ नम्बर प्रदेशका विभिन्न जिल्लाबाट प्रसुती सेवा लिन आउने सेवाग्राही केहीदिन देखि बढेसँगै हेटौंडा अस्पतालका स्वास्थ्यकर्मीले जोखिम महसुस गर्न थालेका छन् । २ नम्बर प्रदेशको पर्सा, रौतहट, सप्तरी जिल्लामा कोरोना संक्रमित पहिचान भएलगत्तै प्रसुती सेवाका लागि हेटौंडा अस्पताल आउने सेवाग्राही बढेको हेटौंडा अस्पतालका प्रमुख डा. प्रविण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सम्बन्धित जिल्लामै लिन सक्ने सेवा भए पनि हेटौंडा आउनुले जोखिम महसुस गरिएको हो ।
चैत २९ गतेदेखि पछिल्लो ४ दिनमा ३८ जना गर्भवतीले हेटौंडा अस्पतालमा प्रसुती सेवा लिएकोमा मकवानपुर जिल्लाका २४ जना गर्भवती छन् भने रौतहटका ५, बाराका ४ र पर्साका २ जना गर्भवती रहेका छन् । यस्तै धनुषाका एक जना र रामेछापका दुईजनाले हेटौंडा अस्पतालमा प्रसुती सेवा लिएका छन् । गर्भवती महिलासँगै आफन्तहरु पनि सँगै आउने संख्या पनि उल्लेख्य हुनुले त्रास बढेको डा. श्रेष्ठको भनाइ छ । एकजना गर्भवतीसँग ६ जनासम्म आफन्त आएकाले अस्पतालका स्वास्थ्यकर्मीले जोखिम महसुस गरेसँगै हेटौंडा अस्पतालका प्रमुख डा. प्रविण श्रेष्ठले जिल्ला प्रशासन कार्यालय मकवानपुरसँगै बागमती प्रदेशका मुख्यमन्त्रीको कार्यालय, सामाजिक विकास मन्त्रालयमा समेत जानकारी गराएर जिल्लामै सम्भव उपचारका लागि हेटौंडा प्रवेशमा रोक्ने व्यवस्था गर्न भनिएको बताउनुभयो ।
Home मुख्य समाचार २ नम्बर प्रदेशबाट प्रसुती सेवा लिन आउने बढेसँगै हेटौंडा अस्पतालका स्वास्थ्यकर्मी जोखिम...