पिपिई बुथ हस्तान्तरण गरिँदै ।

हेटौंडाः हेटौंडाका युवा इन्जिनियरहरूको पहल र प्राविधिक सहयोगमा हेटौंडा अस्पतालले सञ्चालन गरेको आइसोलेसन वार्डका लागि पिपिई (व्यक्तिगत सुरक्षा सामग्री) बुथ सहयोग गरिएको छ । ईन्जिनियरहरुले आफैं निर्माण गरेर आइसोलेसन कक्षका लागि हेटौंडा अस्पताललाई बुथ आज हस्तान्तरण गरिएको छ ।
नेपाल इन्जिनियर्स एसोसिएशनका निवर्तमान महासचिब उमेश थानीको विशेष आर्थिक सहयोगमा हेटौडाका इन्जिनियरहरू अनिल बानियाँ, प्रल्हाद उप्रेती, विक्रम खतिवडाको समूहले स्वतःस्फूर्तरूपमा पिपिई बुथको निर्माण गरेका हुन् । उनीहरुले राष्ट्रिय आविष्कार केन्द्रले तयार पारेको ढाँचा र मापदण्डमै आधारित भएर बुथ निर्माण गरेको जनाएको छ । इन्जिनियर अनिल बानियाँका अनुसार पछिल्लो समय पीपीईको गुणस्तरमा प्रश्न उठिरहँदा, नागरिकको जीवन बचाउन खटिरहेका स्वास्थ्यकर्मीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर पिपिई बुथ बनाएर हेटौंडा अस्पताललाई हस्तान्तरण गरिएको हो । हेटौंडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेलले बुथको गुणस्तर राम्रो भएको र स्थानीय युवाले गरेको यस किसिमको सहयोगमा खुसी व्यक्त गर्नुभयो । इन्जिनियर बानियाँका अनुसार पिपिई बुथ निर्माणमा ९० हजार रुपैयाँ खर्च भएको छ । अहिले उक्त बुथ अस्पतालको आइसोलेसन केन्द्र हेटौंडा–४, कर्रास्थित श्रमिक माविमा राखिएको छ ।