हेटौंडाः चैत १ गतेयता विदेशबाट आएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भए नभएको थाहा पाउनका लागि हेटौंडा उपमहानगरपालिकाले पनि र्‍यापिड डाइग्नोस्टिक किट (आरडीटी) बाट परीक्षण सुरु गरेको छ । हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र चैत १ गतेयता २ सय २१ जना विदेशबाट आएका व्यक्तिको पहिचान भएको छ । बागमती प्रदेश सरकारले उपलब्ध गराएको एक सय वटा किटको प्रयोग गरी कोरोना संक्रमण भए नभएको परीक्षण गर्न उपमहानगरपालिकाका स्वास्थ्यकर्मी खटिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले जानकारी दिनुभयो ।
प्रदेश सरकारले उपलब्ध गराएको किटबाट आज ४, ५ र १५ नम्बर वडामा परीक्षण सुरु गरिएको उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिनुभयो । रगतबाट सहजै परीक्षण गर्न सकिने भएकोले प्रदेश सरकारले उपलब्ध गराएको एकजना स्वास्थ्यकर्मी र हेटौंडा उपमहानगरपालिका मातहतका स्वास्थ्य संस्थामा कार्यरत दुईजना स्वास्थ्यकर्मीको समूहले आरडीटीमार्फत कोरोना संक्रमण भए नभएको परीक्षण गर्न लागेको कार्कीले बताउनुभयो । पर्याप्त किट नभएका कारण विदेशबाट आएका मध्ये जोखिमका आधारमा परीक्षण गर्ने योजना उपमहानगरपालिकाले बनाएको छ । आरडीटीको माध्यमबाट १५ मिनेटमै कोरोना संक्रमण भए नभएको थाहा पाउन सकिन्छ ।