हेटौंडाः आगोलागी पनि एक विपद हो । अहिलेको समयमा आगोलागीका घटनाहरु बढी हुने गर्दछन् । हावाहुरीसँगै सुख्खायामकै बेला मकवानपुरको एक विकट तथा विपन्न बस्ती हात्तीगौंडामा साँझपख आगोलागी हुन्छ ।
गाउँमा जंगलबाट ल्याएका स्याउलाले छाएका घर हुन्छन् । त्यहाँका सबै मानिसको प्रायः पेशा भट्टी सञ्चालन थियो । जसकारण बेलुका तथा साँझपख मानिसहरु भट्टीमा मदिरा पिउँदै रमाइलो गर्ने गर्दछन् । सबै भट्टीहरुमा सेवाग्राहीको चाप बढेकाले मानिसहरु आ—आफ्ना काममा व्यस्त थिए ।
गाउँको एक भट्टी (चम्सुरीको घर)मा गाउँको लोकल रक्सी पिउँदै नाचगान गरी केही व्यक्तिहरु रमाइलो गर्दै थिए । आफैं रक्सी पारेर बिक्री गर्ने चम्सुरीको घरमा गाउँलेहरु रक्सी खाएर रमाइलो गरिरहेका थिए । त्यही बेला रक्सी बनाउँदै गरेको चुल्होबाट आगोको झिल्का सल्किँदै टहरोमा पुग्यो । उक्त आगोको झिल्काले टहराहरु दन्दनी बल्न थाल्यो । बस्तीका मानिसहरुबीच बचाउबचाउ भन्दै हारगुहार हुन सुरु भयो ।
आगलागीबाट चौधरी तथा भट्ट निवास र कान्छीको भट्टी पूर्णरुपमा जलेर नष्ट भए । हारगुहार गर्दै भागदौडका क्रममा केही व्यक्तिको हात भाँच्चियो भने केहीको खुट्टा भाँच्चिए । हारगुहारकै क्रममा नेपाली सेना, सशस्त्र प्रहरी बललगायत अग्नी नियन्त्रण टोली, नगरपालिकाको बारुणयन्त्र, रेडक्रसको प्राथमिक स्वास्थ्य उपचार टोलीहरु आइपुगे ।
आगलागीबाट गाउँका २ घरबाहेक सबै जलेर नष्ट भए । आगो नियन्त्रणपछि नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले स्थानीय वडा अध्यक्षको रोहबरमा घटनाको मुचुल्कासहित क्षति विवरण लिएर गयो ।
यो एउटा विपदबाट कसरी जोगिने र यसको पूर्वतयारी कसरी गर्ने भन्ने उद्देश्यले खुला चौरमा सुरक्षा निकायले नमुना सुरक्षा पद्धति (डेमो) परीक्षण प्रदर्शन गरेको घटनामात्र थियो । आगलागी नियन्त्रण र व्यवस्थापनको विषयमा गोरखबहादुर गण सुपारेटार, सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण मकवानपुर तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका तालिमप्राप्त सुरक्षाकर्मीहरुले ससाना घरहरुलाई डेमो बनाएर आगलागी कसरी नियन्त्रण गर्ने भनेर देखाएको नमुना प्रदर्शन थियो ।
यस्ता घटना जुनसुकै बेला कुनै पनि सामुदायमा घट्ने भएकाले जिल्ला विपद व्यवस्थापन समिति मकवानपुरको नेतृत्वमा सुरक्षाका लागि पूर्वतयारीबारे सचेतना जगाउन डेमो प्रदर्शन गरिएको हो । भिषण आगलागीबाट जनधनको क्षति व्यहोर्दै आउनुपरेको अवस्थालाई मध्यनजर गर्दै आगलागी नियन्त्रण गर्न विपद व्यवस्थापन समितिले आवश्यक जनशक्ति तयार गरेको छ । आगलागी के कारणले लाग्छ ? नियन्त्रण कसरी गर्ने ? लगायतका विषयहरु डेमोमा समेटिएको थियो ।
कार्यक्रममा सशस्त्रका प्रहरी उपरीक्षक नेत्रबहादुर कार्की, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मीनाकुमारी लामा, नेपाली सेनाका प्रमुख सेनानी सुवासचन्द्र महत, राष्ट्रिय अनुसन्धान कार्यालय हेटौंडाका उपनिर्देशक पप्पु शर्मा पौडेल, मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङलगायतको उपस्थिति रहेको थियो ।