गुगल तस्बिर ।

हेटौंडाः मकवानपुर जिल्लामा बालविवाह गर्नेको संख्या बढ्दै गएको छ । बालबालिकाले आफूखुसी नै विवाह गर्ने क्रम बढ्दै गएको छ । विद्यालय तहमै अध्ययन गर्ने बालबालिकाबीच हुने विवाह बढ्दै गएको हो ।

हेटौंडा—४ स्थित भूटनदेवी माध्यमिक विद्यालयमा अध्ययरत एक छात्राले विद्यालय तहमा अध्ययनरत बालबालिकाले नै बालविवाह गर्ने गरेको बताउनुभएको हो । एसईईको तयारीमा रहनुभएकी रुपा समाल मगरले सामाजिक सञ्जालमा भएका कुराकानीका आधारमा सानै उमेरमा विवाह गर्नेको संख्या वृद्वि भएको उल्लेख गर्नुभयो ।

कोरोना महामारीमा आफूसँगै अध्ययनरत एक साथीले उमेर नपुग्दै विवाह गरेको मगरले जानकारी दिनुभयो । बालिकाले विद्यालय बन्द भएको बेलामा दिन बिताउन चलाउने गरेको सामाजिक सञ्जालबाट प्रेम भएपछि विवाह गर्नुभएको हो ।

सामाजिक सञ्जालमा एक अपरिचित युवा व्यक्तिले प्रेम प्रस्ताव राखेकै भरमा प्रेम विवाह गरेको उहाँको भनाइ छ । उमेर पुगेका युवासँग छोरीले भागी विवाह गरेपछि बालिकाको परिवार पक्षले बालविवाहलाई अस्वीकार गर्दै मुद्वासमेत दर्ता गरिएको थियो । मुद्वा दर्ता भएपश्चात् जिल्ला प्रहरी कार्यालय मकवानपुरले केटालाई बालविवाहको उजुरीको आधारमा कारवाहीसमेत गरेको मगरले बताउनुभयो ।

अहिले विद्यालय खुलिसकेको र सबै विद्यार्थी पढाइमा व्यस्त रहेको पनि उहाँले बताउनुभयो । यसले गर्दा कतिपय बालबालिकालाई बालविवाहबाट टाढा हुन सहयोग पुग्ने उहाँले उल्लेख गर्नुभयो । भूटनदेवी माध्यमिक विद्यालयमा कोरोना महामारीका बेला विद्यालय छाडेका विद्यार्थीमध्ये ३ प्रतिशतले बालविवाह गरेको मगरले जानकारी दिनुभयो ।

‘२० वर्षभन्दा मुनि विवाह गर्दा शारीरिक तथा मानसिकरुपमा कमजोर हुने भएकाले सानै उमेरमा विवाह नगर्न साथीहरुलाई अनुरोध गर्ने गरेको छु’, मगर भन्नुहुन्छ– ‘बालविवाह गरेर आफ्नो जीवनलाई व्यर्थ बनाउने होइन, उच्च शिक्षा हासिल गरी केही गर्नुपर्छ भन्ने भावना जागृत गराउँदै आएको छु ।’ बालबालिका आफैैंले आमाबाबुको सपनालाई साकार पार्न कोशिस गर्नुपर्ने बताउनुहुँदै सानै उमेरमा विवाह गरेर भविष्य अन्धकार नबनाउन अनुरोध गर्ने गरेको उहाँको दावी छ ।

मकवानपुरको विकट मानिने राक्सिराङ गाउँपालिकामा पनि बालविवाह बढि हुने गरेको पाइएको छ । राक्सिराङ–८, देवीटारमा रहेको श्री माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकाले पनि विद्यालय छाडेर बालविवाह गर्ने गरेको पाइएको छ । सो विद्यालयमा अध्ययनरत करिब ५ प्रतिशत विद्यार्थी बालविवाह भएकै कारण पढाइ छाड्न पुगेको प्रधानाध्यापक राजु रेग्मीले जानकारी दिनुभयो । बालविवाह हुनुको पहिलो कारण गरिबी भएको उहाँले बताउनुभयो ।

यसैगरी शिक्षा तथा चेतनाको कमी, पराम्परागत रितिरिवाजजस्ता विभिन्न कारणले बालविवाह हुने गरेको प्रधानाध्यापक रेग्मीको भनाइ छ । बालविवाह निराकरणमा सहयोग गर्न अभिभावक पहिलो जिम्मेवार हुनुपर्ने उहाँले बताउनुभयो । भावी दिनमा आफ्ना बालबालिकालाई कुन र कस्तो शिक्षा प्रदान गर्ने भन्ने विषयमा अभिभावक स्वयम् जिम्मेवार हुन आवश्यक छ ।

बालविवाहविरुद्व सडक नाटक, जनचेचना जगाउने, कानुनी दण्ड, सजाय र बालविवाहका फाइदा र बेफाइदाका विषयमा अभिभावक, बालबालिका र समाजलाई जानकारी गराउनुपर्ने प्रधानाध्यापक रेग्मीको भनाइ छ । शारीरिक अपरिपक्वता भएपनि विद्यालय तहका ९, १० कक्षामा अध्ययनरत विद्यार्थीले बढी आफूखुसी बालविवाह गर्ने गरेका छन् । विद्यालयका तथ्यांकअनुसार बालकभन्दा बढी बालिकाले बालविवाह गर्ने गरेको रेग्मीले जानकारी दिनुभयो ।

बालविवाह नै बलात्कारको प्रमुख कारण बन्न पुगेको बालबालिका तथा महिला अधिकारकर्मीको दावी छ । बालमैत्री पालिका घोषणा हुन ४९ सूचक पूरा हुनुपर्छ तर बालमैत्री पालिकामै बालविवाह हुने गरेको पाइएको छ । यस्ता संवेदनशील विषयमा स्थानीय, प्रदेश र संघीय तहका सरकारको ध्यान केन्द्रित हुनु आवश्यक देखिन्छ ।